Tuesday, November 10, 2015

ओलीलाई उपेन्द्रको सुझावः बोली सुधार्नुस्, विद्यार्थी नेता जस्तो बनेर हुँदैन

२४ कात्तिक, काठमाडौं । मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोली सुधार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । साथै उनले टीकापुर घटनामा पक्राउ परेका नेताहरु नछुटेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयबारे प्रतिक्रिया दिँदै मोर्चाका नेता यादवले विद्यार्थी नेता जस्तो नहुन ओलीलाई आग्रह गरे । ‘यो सरकारको न बोलीको ठेगान छ न चरित्रको’ यादवले अनलाइनखबरसँग भने-‘वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीले बोली सुधार्नुपर्छ । प्रधानमन्त्री भइसकेपछि पनि विद्यार्थी नेता जस्तो बनेर हुँदैन । हास्य व्यग्यले देश चल्दैन ।’ मधेसी मोर्चाले सरकारले प्रचार मात्र गरेको तथा वार्ताको वातावरण नबनाएको आरोप लगाएको छ । यादवले भने-‘कसले के भन्यो भन्दा पनि एक्सनमा हुनुपर्‍यो । पहिला टीकापुर घटनामा थुपिएका नेताहरु छुटेर हामी कहाँ आइपुग्नुपर्छ र अरुलाई पनि छाड्नुपर्छ ।’ आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सरकारी प्रतिवद्धता पनि अझै कार्यान्वयन नभएको संघीय समाजवादी फोरमका अध्यक्ष यादवले बताए । यादवले थुनामा रहेका नेताहरुलाई छाड्नु पर्ने लगायतका माग पुरा भए मात्र वार्ताको वातावरण बन्ने बताए । वातावरण बने आफूहरु जहिले पनि वार्ताका लागि तयार रहेको उनको दाबी थियो । सीमांकन परिर्वतन हुन्छ कि हुन्न यादवले संविधानमा भएको कमजोरी सच्याउन तयार हुन नहुने पनि सरकारले प्रष्ट पार्नु पर्ने बताएका छन् । उनले भने-‘सीमांकन परिर्वतन गर्न तयार हो कि होइन भन्नुपर्छ । संविधानमा भएका कमजोरी नसच्याएसम्म कसरी मधेस आन्दोलन सम्बोधन हुन्छ ।’

No comments:

Post a Comment