Saturday, November 14, 2015
मधेसी मोर्चासँग प्रचण्डले वार्ता थाले
काठमाडौँ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता थालेको छ।
प्रचण्ड र वार्ता समितिका संयोजक रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका महन्थ ठाकूरलगायतका नेताहरुसँग शनिबार बिहान छोटो वार्ता गरेका हुन्।दाहालका स्वकीय सचिव चुडामणी खड्काले मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको जानकारी दिए।
उच्चस्तरीय संयन्त्रको बैठकले मधेसकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेपछि प्रचण्डले पहल थालेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउने प्रयत्नका निम्ति सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापा र समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।
बैठकले वार्ता सफल पार्न आवश्यक प्रयत्न गर्नका लागि सरकारी वार्ता टोली संयोजक र समितिका संयोजलाई जिम्मेवारी दिइएको समितिका सदस्य एवम् एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्।
उप्रपधानमन्त्री थापा र अध्यक्ष दाहालले आवश्यक परेमा प्रधानमन्त्रीसहित, प्रतिपक्षीदल काँग्रेससँग छलफल गर्ने र मधेसी मोर्चाका नेतासँग छलफल गरी वार्तालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी दिइएको छ । केपी ओली प्रधानमन्त्री भएपछि थापाले मधेसी मोर्चासँग गरिरहेको वार्ता वीरगञ्ज घटनापछि भाँडिएको थियो ।
सरकारी तथा मधेसी मोर्चाको वार्ता टोलीबीच विभिन्न चरणमा छलफल भए पनि मुख्य मुद्दाको रुपमा उठाइएको सिमांकनमा बारेमा केही सहमति भएको छैन ।
सरकारी पक्षले अहिले राजनीतिक तहमा असहमति गरेर समस्यालाई सम्बोधन गर्ने र सिमांकनलाई संघीय आयोगमार्फत टुंगो लगाउनुपर्ने प्रस्ताव राखेको छ भने मोर्चाले अहिले नै संविधान संशोधन गरेर सिमांकन पुनरावलोकन गर्नुपर्ने र तराईमा कम्तीमा दुई प्रदेश हुनुपर्ने माग राख्दै आएका छन् । यही माग राखेर साढे दुई महिनादेखि उनीहरु आन्दोलनमा छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment