Monday, November 23, 2015
राजस्व लक्ष्यको १ प्रतिशत मात्र
वीरगन्ज- मधेश आन्दोलनले थलिएको आयात–निर्यात असोज ७ देखिको नाकाबन्दीपछि ठप्प भएपछि वीरगन्ज भन्सारको राजस्व असुली लक्ष्यको १ प्रतिशतमा सीमित भएको छ। कात्तिकमा देशकै सबैभन्दा बढी राजस्व उठाउने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको जम्मा १.०१ प्रतिशत राजस्व असुलेको छ।
दुई देशको सीमा छुट्याउने दसगजामा बग्ने सिर्सिया नदीमाथिको मैत्री पुलमा मधेसबादी मोर्चाको धर्ना छ। यसले यातायात ठप्प छ। भारत तथा तेस्रो मुलुकबाट आयातित मालवस्तु भित्रिने मुख्य भन्सार नाकाको प्रवेशमार्गमा जारी धर्ना देखाउँदै भारतीय पक्षले समेत सो नाकामा कागजी प्रक्रिया रोकेको छ। असोज ७ गते सुरु भएको नाकाबन्दीले राजस्व असुलीमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ।
कात्तिकको राजस्व असुली लक्ष्य सात अर्ब ३० करोड ५९ लाख रहेकोमा सात करोड ३९ लाख ९३ हजार मात्र संकलन भएको छ। ९९ प्रतिशत राजस्व उठ्न सकेन। पोहोर कात्तिकमा यसले लक्ष्यभन्दा २.८३ प्रतिशत बढीले पौने सात अर्ब रुपैयाँ असुलेको थियो। त्यस्तै असोजमा ७४.२३ प्रतिशत राजस्व गुमेको थियो। पहिलेदेखि भित्रिएको मालसामानबाट उठेको राजस्व बापत असोजमा असुली केही जोगिए पनि २५ प्रतिशत मात्र असुली भएको भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए। सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार असुलीको लक्ष्य राखिएको असोजमा दुई अर्ब ६४ लाख ६७ हजार मात्र संकलन गरेको छ।
नाकाबन्दी नहुँदै मधेस आन्दोलनको प्रभावले यसलाई भदौमा लक्ष्यको आधा असुली गर्न पनि मुस्किल परेको थियो। भदौको लक्ष्य ८ अर्ब ८२ करोड ५० लाख २८ हजारको ५५.६५ प्रतिशत ४ अर्ब ९१ करोड १३ लाख ३७ हजार असुली भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनबाहेक बाँकी समय बन्दको मारमा परेपछि पहिलो चौमासिकमा लक्ष्यको ४५.८९ प्रतिशत मात्र राजस्व उठेको छ।
भन्सार अधिकारीका अनुसार वार्षिक लक्ष्य पूरा गर्न प्रत्येक कार्य दिनमा लक्ष्य हासिल गर्नुपर्ने भएकोले आगामी दिनको असुलीबाट यसको भर्पाइ हुँदैन। यसबीचमा अर्बौ मुल्यको मालवस्तु विराटनगर र भैरहवा नाकातर्फ गएको वीरगन्ज भन्सारका कार्यालय प्रमुख मित्रलाल रेग्मीले बताए। 'अनौपचारिक रुपमा लोकल पैठारीबाट आउने धेरै मालसामान रक्सौल आएर पनि अरु नाकातर्फ गएको जानकारी आएको छ,' रेग्मीले भने, 'औपचारिक आयातबाट आउने मालसामानका 'कन्साइनमेन्ट'को नाका परिर्वतन भए पनि त्यसको यकिन तथ्यांक छैन।'
उसै पनि महिनौंसम्म रक्सोलमा घेरिएर विलम्ब शुल्क र जरिवानाको भार बढेको वस्तु भैरहवा वा विराटनगर लैजानु पर्दा लाग्ने अर्को भाडा थपिँदै छ। 'मरता क्या न करता,' औषधि आयातकर्ता प्रकाश खण्डेलवालले भने, 'बाध्य छन्, व्यापारी र कच्चा पदार्थ मगाएका उद्योगी।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक, चीनसँग जोडिने ९ वटा र भारतबाट जोडिने २० वटा गरी नेपालमा रहेका ३० भन्सार कार्यालयमध्ये वीरगन्ज एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य दिइएको छ। चालु आर्थिक वर्षमा भन्सार विभागले लिएको असुलीको लक्ष्य २ खर्ब ५ अर्ब रुपैयाँ छ भने वीरगन्ज भन्सारलाई मात्र १ खर्ब ३ अर्ब रुपैयाँ छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment