Thursday, November 19, 2015

भ्रुण हत्या कम हुने मुलुकको सूचीमा नेपाल पहिलो महिला-पुरुषको माध्यमिक भर्नादरमा पनि विश्वमै अब्बल

३ मंसिर, काठमाडौं । लैंगिक अनुपातको सूचकांकमा नेपाल विश्वमै सबैभन्दा अघि देखिएको छ । वर्ल्ड इकोनोमिक फोरमले हालै सार्वजनिक गरेको ‘ग्लोबल जेण्डर ग्याप रिर्पोट २०१५’ मा नेपाल लैंगिक अनुपातमा सबैभन्दा अब्बल देखिएको हो । यसले नेपाल भ्रुण पहिचान गरी गर्भपतन नगर्ने मामिलामा नेपाल विश्वमै अघि रहेको देखाएको छ । विश्वभर भ्रुण पहिचान गरी गर्भपतन गर्ने क्रम बढिरहेका बेला नेपालमा लैंगिक अनुपात विश्वकै उत्कृष्ट देखिएको हो । छिमेकी मुलुक भारत १ सय ४३ औं स्थानमा रहेको लैंगिक अनुपातको सूचकमा नेपाल पहिलो स्थानमा देखिएको हो ।
यस्तै माध्यमिक तहको विद्यालयमा हुने भर्ना दरमा लैंगिक समानता हुने मुलुकको सूचीमा पनि नेपाल विश्वकै सबैभन्दा अघि देखिएको छ । माध्यमिक तहमा लैैंगिक रुपमा समान भर्ना दरमा नेपाल पहिलो स्थानमा रहँदा छिमेकी मुलुक भारत १ सय १८ औं स्थानमा छ । यस्तै रिपोर्टले लैंगिकरुपमा समान ज्याला दिने मामिलामा नेपाल भारतभन्दा अघि देखिएको छ । महिलालाई पुरुषसरह आर्थिक अधिकार दिने सूचकमा पनि नेपाल भारतभन्दा अगाडि देखिएको छ । समग्र बरियतामा भारत नेपालभन्दा २ स्थान माथि देखिए पनि आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको लैंगिक पहुँचमा समानताको मामिलामा नेपाल भारतभन्दा अघि देखिएको छ । लैंगिक रुपमा राजनीतिक समानताको हकमा भने भारतले नेपाललाई उछिनेका कारण भारत समग्र बरियतामा नेपाल केही तल परेको रिर्पोटमा उल्लेख छ । महिलालाई श्रम सहभागिता, एउटै काममा समान ज्याला, आर्थिक उपार्जन, विधायक, उच्च अधिकृत तथा ब्यवस्थापकीय ओहोदामा पहुँच र ब्यवसायिक तथा प्राविधिक काममा सहभागिता लगायत आर्थिक तथा पदीय अधिकार दिन नेपालभारत भन्दा अब्बल देखिएको रिर्पोटमा उल्लेख छ । रिर्पोटका अनुसार समान रुपमा शैक्षिक अवसर दिने मामिलामा पनि नेपाल भारतभन्दा अघि छ । लैंगिक आधारमा प्राथमिक, माध्यमिक तथा उच्च शिक्षाको तहमा भर्ना दर पनि नेपालमा भारतको भन्दा राम्रो देखिएको रिर्पोटले जनाएको छ ।

No comments:

Post a Comment