Thursday, November 19, 2015

भारतीय राष्ट्रपतिले भने-साथी फेर्न सकिन्छ, छिमेकी फेर्न सकिँदैन

३ मंसिर, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले साथी फेर्न सकिने तर छिमेकीहरुलाई फेर्न नसकिने बताएका छन् । राष्ट्रपति मुखर्जीले दक्षिण एशियाली देशहरुवीच एकता, शान्ति र सम्वृद्धिका लागि सार्क संगठन स्थापना गरिएको स्मरणसमेत गरेका छन् । बंगलादेश स्तन्त्रता संग्राममा लडेका पूर्व भारतीय सैनिक अफिसरहरुको संगठन ‘क्याभ्लरी अफिसर्स एशोसिएसन’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति मुखर्जीले यस्तो बताएका हुन् । राष्ट्रपतिले आफ्नो मन्तव्यमा भनेका छन्- ‘हामी आफ्नो साथी फेर्न सक्छौं तर छिमेकी फेर्न सक्दैनौं, यदि हामीले शान्ति र सदभाव कायम गर्ने हो भने विगतका विभाजनहरुलाई त्याग्न सक्नुपर्छ ।’ विश्वको लामो कूटनीतिक इतिहास हेर्दा देशहरुवीचको सम्बन्ध उतार चढावपूर्ण रहेको बन्दै भारतीय राष्ट्रपति मुखर्जीले युरोपेली संसदको स्थापनादेखि सार्कको स्थापनासम्म देशहरुवीचको आपसी सम्बन्ध विकासका दृष्टान्त भएको बताएका छन् । ‘क्षेत्रीय सहयोग, एकता शान्ति र सम्वृछिका लागि बंगलादेशको पहलमा सात राष्ट्रवीच १९८५ मा सार्क स्थापना भएको थियो, मुखर्जीले भनेका छन्, ‘यसका कतिपय मेकानिज्म र संस्थाहरु यरोपेली युनियनका जस्तै छन् ।’ भारतीय राष्ट्रपतिले आफ्नो मन्तव्यमा बंगलादेशको प्रगतिको प्रशंसा गरेका छन् । बंगलादेशले खाद्य उत्पादनको क्षेत्रमा तीव्र विकास गर्नुका साथै सामाजिक क्रान्ति, महिला सशक्तीकरण एवं वाल स्वास्थ्य, प्रविधि र सेवाको क्षेत्रमा पनि प्रगति गरेको उनको भनाइ छ । ‘यो (बंगलादेश) भारतजस्तै युवा देश हो, जहाँ ५० प्रतिशत २४ वर्ष मुनिको जनसंख्या छ, उनले भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुईदेशको सम्बन्ध थप सुमधुर बनाएको छ ।’ भारतका लागि दक्षिण एशियाको दोस्रो ठूलो व्यापारिक पार्टनर रहेको बंगलादेशमा आगामी दुई वर्षमा ५ सय देखि ११ मेघावाट बिजुली हुन लागेको राष्ट्रपतिले चर्चा गरेका छन् । भारतीय राष्ट्रपतिले आफ्नो मन्तव्यमा नेपालको समेत चर्चा गर्दै भुटान, बंगलादेश, भारत र नेपालको संयुक्त बस सेवाले ‘कनेक्टीभीटी’ प्रगाढ बनाएको चर्चा गरेका छन् ।

No comments:

Post a Comment