Sunday, November 29, 2015
संविधानले मुलुकलाई स्थायित्व दिँदैन : महामन्त्री सिटौला
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको संविधानबाट मुलुकले स्थायित्व नपाउने बताएका छन् ।
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता सिटौलाले संसद्को तल्लो सदनमा पनि मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएकाले मुलुकले स्थायित्व नपाउने बताएका हुन् ।
नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको अन्तरक्रियामा महामन्त्री सिटौलाले तल्लो सदनमा सबै प्रत्यक्ष र माथिल्लो सदनमा समानुपातिक व्यवस्था गर्नुपर्ने काँग्रेसको प्रस्तावलाई अस्वीकार गरिएकाले मुलुक अस्थिरताको सिकार हुन लागेको तर्क गरे ।
तत्कालीन संविधानसभाअन्तर्गतको संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका सिटौलाले तल्लो सदनमा पनि समानुपातिकको व्यवस्था गरिएको प्रति आफूलाई अहिलेसम्म पनि चित्त नबुझेको उल्लेख गरे। उनले सबैलाई समेटेर लैजाने नाममा चित्त नबुझ्दानबुझ्दै पनि कतिपय गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेको बताए।
उनले भने, “नयाँ संविधान बनेपछि नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने थियो, आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य हुन्छ, तर राजनीतिक स्थायित्व दिन नसक्ने संविधान बनेकाले आर्थिक समृद्धि पनि पछाडि धकेलिएको छ ।”
महामन्त्री सिटौलाले मानिसको गरिबी, रोग, भोक, अशिक्षा नहटेसम्म मानिसको दिमागमा विद्रोहको भावना रहिरहन्छ र मौका पाउना साथ विद्रोह प्रकट हुन्छ भन्दै मुलुकलाई फेरि पनि अस्थिरतामै रुमल्याउने फोहोरी खेलमा पुग्ने अवस्था देखापरेको बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment