Monday, November 23, 2015

देश टुक्राउने माग पुरा गरिँदैन : उपप्रधानमन्त्री केसी

छोरीलाई हप्काएर बुहारी नतर्साए हुन्छ पोखराः उप्रधान तथा गरिवी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले मधेस आन्दोलनका नाममा देश टुक्राउने मनासयले राखिएका माग पुरा नहुने बताएका छन् । उनले हिमाल, पहाड र तराई मिलेर नेपाल बनेकोले तराईलाई अलग पार्दा देश नै नरहने भएकोले यस्तो माग कुनै हालतमा सम्बोधन गर्न नसकिने अडान व्यक्त गरे । ‘अहिले सीमाङ्कन भनेर उठाइएको माग तराईका समथर बाँकी जिल्लाहरुलाई पनि पहाड अलग गराउन हो,’ पोखरामा सोमबार पत्रकारहरुसँग उपप्रधानमन्त्री केसीले भने, ‘हिमाल, पहाड र तराई मिलेर नेपाल बनेको हो । तराईलाई अलग पारेर देशै रहँदैन, त्यसैले यस्तो माग कदापि पुरा गर्न सकिँदैन ।’ उनले मधेसी दलले उठाएका जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने र नेपाली नागरिकता लिएका बिदेशीलाई राष्ट्रप्रमुख बनाउन नसकिने प्रष्ट पारे । ‘जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने संसारमा कहीँ चलन छैन,’ अनेक मात्र राख्दै प्रर्दशनमा उत्रिएकालाई उनले भने, ‘नेपाली नागरिकता लिएका विदेशीलाई राष्ट्र प्रमुख बनाउने माग पुरा गर्न सकिँदैन ।’ मधेसमा भइरहेको प्रर्दशन अरुको उक्साहटमा भइरहेको बताउँदै उनले अहिले उनीहरुको असली रुप प्रष्ट भएको बताए । ‘देश टुक्राउने उदेश्यले आएका भएपनि हामीहरुले केही भनेका थिएनौं,’ मधेश एक देशको माग अघि बढाउँछौ भन्ने मधेसवादी दलका नेताहरुको भनाइप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री केसीले भने, ‘खास्टाले छोपेको बिरालो म्याउ गर्यो‍ ।’ उनले नाजायज मागहरु कदापी पुरा गर्न नसकिने अडान व्यक्त गर्दै तोडफोड, आगजनी र अराजक गतिविधि रोक्न सुझाव दिए । ‘छोरीलाई हप्काएर बुहारीलाई तर्साउने काम नगरे हुन्छ,’ उनले भने, ‘जतिसुकै समस्या झेल्नु परेपनि देशको स्वाभिमान र अस्तित्व झुकाउने काम हुने छैन ।’ उनले पहिला दलहरुको सत्ताका लागि लम्पसार पर्ने प्रवृत्ति र जतिसुकै हेपिएर पेलिदा पनि चुपचाप सहेर बस्ने बानीले गर्दा अहिले देशबासीले दुःख पाएका बताए । ‘राजनीति गरेपछि सत्तामा पुग्नैपर्छ भनेर जतिखेर पनि सत्ताका लागि परशक्तिसामू लम्पसार परे,’ उनले भने, ‘तर अहिले हामी आफैले आफ्नो संबिधान, सरकार र राष्ट्र प्रमुख बनाएको परिणामस्वरुप नाकाबन्दी झेल्नु प¥यो ।’ परदेशीले जतिसुकै थिचोमिचो र अन्याय गर्दा पनि चुप लागेर सहने र हरेक कुरामा परनिर्भर भइदिँदा अहिलेको समस्या खेप्नु परेको उनले बताए । ‘भूपरिवेष्ठित राष्ट्रले बिना रोकटोक समुन्द्रसँग पुगेर आयात गर्न पाउनु नैसर्गिक अधिकार हो,’ उनले भने, ‘तर भारतले पटक पटक नाकाबन्दी गर्दा पनि हामी चुपचाप सहेर बस्यौं । केही नबोल्दा फेरि हेपिएका छौं । समस्यामा पारिएका छौँ ।’ उनले विगतमा सत्ता हाँक्नेहरुको कमजोरीले गर्दा देश पुरै परनिर्भर बनेकोले अहिले खाद्यान्नदेखि हरेक कुराको समस्या खेप्नु परेको बताए । ‘नेपाल मरुभूमि भएको देश होइन, तर फेरि पनि हामीले खेतबारी बाँझै राखेर खुर्सानी, आलु, प्याज नफलाएर बाहिरबाटै ल्यायौं,’ उनले भने ‘एकमुठी तेल ननिस्कने देशमा लाखौं मोटर गाडिहरु चढने बानी भयो ।’ राज्यका जिम्मेवार निकाय, वित्तीय क्षेत्रहरुले कृषि र स्वदेशी उत्पादनलाई कहिल्यै प्रोत्साहन र सहयोग नगरेकोले देशले अहिलेको हविगत व्यहोर्नु परेको बताउँदै उनले अबको सरकारले आत्मनिर्भर बन्न स्वदेशी उत्पादनलाई जोड दिने जानकारी दिए । उनले विगतमा सत्तामा बसेकाहरुको गल्तीले गर्दा देशबासीले दुःख पाएकोले संकटको यस घडीमा देशलाई बचाउन सबै क्षेत्रका अगुवा र जनतालाई एकजुट भएर राष्ट्रिय हितमा जुटन आव्हान गरे । ‘अहिलेको समस्या हामी सबैको लागि परीक्षाको घडी हो,’ उनले भने, ‘अरुले हालिदिए मात्रै खाने ब्रोईलर कुखुरा बनाइएका हामीले परनिर्भरता हटाउनु जरुरी छ । त्यसका लागि सबै मिलेर अघि बढ्नुको बिकल्प छैन ।’

No comments:

Post a Comment