Friday, November 20, 2015

बारामा मधेसी मोर्चाका कार्यकर्ताद्वारा दर्जनौं मोटरसाइकल तोडफोड, संस्कार एफएम बन्द

४ मंसिर, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा गर्दै आएको आन्दोलनले बाराको जनजीबन कष्टकर भएको छ । मोर्चाले बारा सदरमुकाम कलैयासहित सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, गढीमाई नगरपालिका, कोल्हवी नगरपालिका, प्रसौनी लगायतका प्रमुख व्यापारीक नगरहरु ठप्प पारेको छ । जिल्लाको प्रमुख बजारका साथै यहाँको यातायात, उद्योग, शिक्षण संस्था, सरकारी, गैरसरकारी कार्यालयहरु समेत बन्द छन् । मोर्चाका कार्यकर्ताले सडकमा मोटरसाइकल समेत चल्न दिएका छैनन् । फाटफुट चलेका मोटरसाइकल ठाउँ-ठाउँमा रोकि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । बाराका बिभिन्न ठाउँमा दर्जनौ मोटरसाइकल तोडफोड भएका छन् । मोर्चाको बन्दले हरेक क्षेत्र अस्तव्यस्त भएका कारण यहाँ अति आवश्यक दैनिक उपभोग्य समाग्रीको हाहाकार भएको छ । ग्यास, इन्धन, खाद्यान्य, औषधिलगायतका अतिआवश्यक उपभोग्य समानको अभावले जनजीबन कष्टकर भएको बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीले बताए । अतिआवश्यक बस्तुको व्यवस्थापन मिलाउन प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसंग भेटेरै कुराकानी गर्दा उनले अहिले केही गर्न सक्ने अवस्था नरहेको बताएको समाजका अध्यक्ष चौधरीले बताए । मधेसी मोर्चाको केन्द्रीय कमाण्डले शुक्रबारदेखि बिद्यालय बिहानको समयमा सञ्चालन गर्न दिने निर्णय गरेपनि बारामा आज बिद्यालय सञ्चालनमा आउन सकेनन् । लामो समयदेखि बिद्यालय बन्द भएको र मोर्चाको बिद्यालय खोल्ने निर्णय बिहीबार साँझ मात्र आएकाले अब आईतबारदेखि मात्रै बिद्यालय सञ्चालन गर्ने नेपाल शिक्षक महासंघ बाराका अध्यक्ष भरतप्रसाद साहले बताए । तीन महिनादेखि सडकमा आन्दोलन गरिरहे पनि माग पूरा गर्न सरकारले बेवास्ता गरेकाले आन्दोलनलाई सशक्त बनाउनुपरेको मधेसी मोर्चाका नेताले बताएका छन् । माग पूरा नभएसम्म आन्दोलन सशक्त रुपमा हुने संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले बताए । पुर्वघोषित कार्यक्रम अनुसार शुक्रबार कलैयामा मधेसी मोर्चा बारा क्षेत्र नम्बर १ ले प्रदर्शन गरेको छ । सिम्रौनगढ नगरपालिकासहित बिभिन्न गाउँबाट आएकाहरुले कलैया नगरपरिक्रमा गरी ‘मोर्चाको माग पूरा गर’ भन्दै नाराबाजी गरे थिए । बाजागाजासहित निकालिएको र्‍यालीमा भोजपुरी भाषाका मधेस मैत्री गीत बजाउँदै युवाहरु नाचेका थिए । संस्कार एफएमको समाचार बन्द यसैबीच कलैयास्थित संस्कार एफएमले शुक्रबारदेखि आफ्नो समाचार प्रशारण कार्यक्रम बन्द गरेको छ । दैनिक रुपमा ६ पटक स्थानीय समाचार प्रशारण गर्दै आएको संस्कार एफएमले अनिश्चितकालसम्मका लागि समाचार बन्द गरेको सम्पादक राजेश कुशवाहाले बताए । केही दिन अघि मधेसी मोर्चा बाराले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीसहित ‘मधेस बिरोधी’ सभासद र पार्टीको दशै, दिपावली र छठ पर्वको शुभकामना प्रकासन/प्रशारणमा बन्देज लगाएको थियो । तर शान्ति मिडिया प्रालिले सञ्चालन गर्ने संस्कार एफएमका साथै संस्कार खबर दैनिक पत्रिकामा शुभकामना सन्देशहरु प्रकाशन र प्रसारण हुँदै आएको थियो । त्यसको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले संस्कार खबर दैनिक पत्रिका मंगलबार जलाएका थिए । पत्रिका जलाएपछि एफएमले समाचार बन्द गर्नुपरेको एफएमका समाचार सम्पादक कुशवाहाले बताए । एफएमको समाचार कार्यक्रम बन्द गरिए पनि समाचार बाहेकका अन्य कार्यक्रम र संस्कार खबर पत्रिका भने नियमित प्रकाशन/प्रसारण भइरहेको शान्ति मिडिया प्रालि कलैयाले जनाएको छ ।

No comments:

Post a Comment