Saturday, November 28, 2015
रसुवाका सबै आयोजनाको काम ठप्प
रसुवा- भुइँचालोपछि रोकिएको काम पुनः सुरु गरेका जिल्लाका जलविद्युत आयोजनाको काम अहिले इन्धन अभावले रोकिएको छ। कतिपय आयोजनाको बाटो पहिरोले भत्काएको छ। इन्धन नहुँदा अवरोध पन्छाउन समेत नसकेको सम्बद्ध अधिकारी बताउँछन्। काम कहिलेबाट सुरु हुन्छ भन्न सक्ने अवस्थामा उनीहरु छैनन्।
भूकम्पपछि पनि तीव्र गतिमा काम सुरु गरिसकेको ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेनले इन्धन नपाएर काम रोक्नुपरेको बताएका छन्। प्रवर्द्धक कम्पनी चिलिमेले निर्धारित समयमै सक्ने गरी काम अघि बढाए पनि इन्धन अभावले रोकिएको साञ्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीले बताए। 'असोज २६ गतेसम्म जेनतेन काम गरिरहेका थियौं, त्यसपछि सकिएन,' अधिकारीले भने, 'नजिकैको चीनबाट किन्ने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरे पनि सुनुवाइ भएन।'
अयोजनाको काम रोकिँदा मजदुर भारत पलायन हुने चिन्ता बढेको उनले सुनाए। 'ठेकेदार कम्पनीले ल्याएको अधिकांश मजदुर तराई क्षेत्र र भारतका छन्। काम नभए उनीहरु नबस्न सक्छन्,' अधिकारीले भने।
अधिकारीका अनुसार आयोजनालाई दैनिक हजार लिटर इन्धन आवश्यक पर्छ। नाकाबन्दीले आयोजना निर्माणका लागि चाहिने सिमेन्ट, रड लगायत सामग्रीसमेत रोकिएको उनले बताए।
मनसुन सकिएपछि काम सुरु गर्ने त्रिशूली ३ एको योजना पनि इन्धन अभावले रोकिएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए। 'इन्धन अभावकै कारण ठेकेदारलाई सुरु गर भन्न सक्ने अवस्था छैन,' उनले भने।
दसैंलगत्तै काम थाल्ने योजना रहेकोमा सडक निर्माण नै रोकिएको छ। ६० मेगावाट क्षमताको त्रिशूली ३ एको काम ७० प्रतिशत सकिइसकेको छ।
एक सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाले निर्माण सामग्री र इन्धन अभावले सुरु भएको काम पनि रोकिएको बताए। भूकम्पले क्षति पुर्या एको ठाउँमा चिनियाँ ठेकेदारले २० चिनियाँ र ६० नेपाली कामदार खटाएर काम गरिरहेको तर इन्धन अभावले अघि बढ्न नसकेको उनले बताए। दुई सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली १ को काम पनि रोकिएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment