Sunday, November 29, 2015
कालोबजारीको तेलले धान्दैछ राजधानीको यातायात
काठमाडौं: भारतीय नाकाबन्दीको फाईदा उठाएर काठमाडौंमा पेट्रोलियम पदार्थको तस्करी र कालोबजारी मौलाएको छ । प्रहरीले पछिल्ला साता दैनिक जसो त्यस्ता कालोबजारी र तस्करलाई नियन्त्रणमा लिए पनि यो क्रम भने रोकिएको छैन ।
खासगरी यात्रुबाहक तथा मालबहाक गाडीमै तस्करले तेल ल्याउन थालेपछि गृह मन्त्रालयले कालोबजारी नियन्त्रण गर्न प्रहरीले परिमाणमुखी काम गर्न भन्दै प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ ।
सरकारले दशैंपछि नियमित पेट्रोलियम पदार्थ नबाँड्दा पनि राजधानीमा सवारीसाधनको चाप बढ्दै गएको छ । ‘सुरुमा जति हाहाकार भयो अहिले देखिंदैन, गाडीको भीडभाडले अहिले त सडक नै जाम हुन थालिसक्यो, त्रिपुरेश्वरमा खटिएकी एक ट्राफिक प्रहरीले भनिन्, ‘कसरी धानिरहेका छन्, सवारी चालकले ? ’
अहिले प्रहरी एवं स्थानीय प्रशासनलाई जानकारी नदिई पेट्रोलियम पदार्थ ओसारपसार गर्ने मात्रै पक्राउ परेका छन् । प्रहरीको कार्यशैली भन्दा गोप्य ढंगले अझै पनि काठमाडौंमा पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको छ ।
सुरुमा खुलेयाम कालोबजारी र तस्करी भएपछि आलोचित बनेको सरकारले कालोबजारी नियन्त्रण गर्न अग्रसर भएको हो । राजधानीमा विराटनगर, भैरहवा, नेपालगञ्ज, झापादेखि गाडीमा गोप्य रुपमा तेलको तस्कर हुने गरेको छ ।
गाडीमा ठूला ड्रममा ल्याएको तेल समात्न थालेपछि वसका चालकहरुले यात्रुलाई प्रयोग गरेर तेल ल्याउन थालेको सूचना प्रहरीले पाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याईएको तेल सरकारले नै छाड्न निर्देशन दिएपछि प्रहरीले कम्तिमा ६० देखि सय लिटर पेट्रोल र डिजेल ल्याउन छुट दिएको छ ।
अहिले सार्वजनिक सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन् । विद्यार्थीलाई परिचय पत्र छुट समेत नदिने वसका चालक र सहचालकहरु भन्छन्, ‘ब्ल्याकमा तेल किनेर गाडी चलाउनु छ, अझ छुट, हामीले तोकेको भाडा दिनोस बरु चढे चढ्नोस नचढे नचढ्नोस ।’
कलंकी देखि रत्नपार्क झरेको वसको भाडा अहिले २० रुपैंया देखि २५ रुपैंया सम्म लिंदै आएका छन्, गाडी चालकहरुले । रत्नपार्कमा भेटिएकी सरगर शर्माले भनिन्,‘ बालाजु बाईपासबाट अरु समयमा १७ रुपैंया लिंदै आएका माईक्रोले अहिले २५ रुपैंया लिए, मैले किन भाडा धेरै लिएको भनेर प्रश्नगर्दा ब्ल्याकमा तेल किनेर गाडी चलाएको जफाव दिए ।’
उनले जताबाट पनि सर्वसाधरण नै मारमा परेको भन्दै सरकारले गाडीभाडा र बजारभाउको अनुगमन गर्न चुकेको बताईन् । अहिले सरकारले पेट्रोलियम पदार्थ वितरण गर्ने पम्पहरुमा सवारीसाधनको धेरै लाम देखिंदैन । यस पछाडीको रहस्य भने कालोबजारीको तेल नै रहेको बारे जानकार छ सरकार ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रम सिंह थापा भन्छन्,‘ जहिले सम्म कालोबजारी रोकिंदैन तब सम्म प्रहरीले सुराकी लगाएर भएपनि पेट्रोलियम पदार्थको तस्करी तथा कालोबजारी गर्नेलाई पक्राउ गरेरै छाड्छौं ।’
एसएसपी थापाका अनुसार कालोबजारीले प्रहरीको आँखा छलेर आफू अनुकुल अझै पनि तेल बिक्री गर्दै आएको सूचना अनुसार प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । उनले अहिले राजधानीमा सवारीसाधनको भीड देखिनुमा केही हदसम्म कालोबजारीको तेलकै कारण भएको जानकारी दिंदै प्रहरीले थाहापाएसम्मका कालोबजारी गर्नेलाई पक्राउ गर्दै आएको बताए ।
काठमाडौं प्रहरीले मात्रै एक महिनाको अवधिमा १६ हजार ३० लिटर पेट्रोल, २५ हजार पाँच सय २० लिटर डिजेल, तीन हजार दुई सय २० लिटर मट्टितेल र ५९ वटा कालोबजारीका ग्यास सहित त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको छ । यद्यपी पछिल्लो सातामात्रै प्रहरीले अभियानका रुपमा कालोबजारी र तस्करीमा प्रयोग हुने गाडी तथा व्यक्ति नियन्त्रणमा लिंदै आएको हो ।
त्यस अघि प्रहरीले केही नगर्दाको अवस्थमा उपत्यकामा ठूलो मात्रामा कालोबजारीका पेट्रोलियम पदार्थ स्टोर भएको अनुमान प्रहरीको छ । बरामद भएका सबै बस्तु कालोबजारी अन्तर्गत अदालतमा मुद्दा चलाएर समान पनि उतै जिम्मा लगाईदिने जानकारी परिसरका मुद्दा शाखाका डिएसपी दिनेश आचार्यले दिए ।
‘यस अघि कालोबजारीका समान अदालत बुझाएछि अदालतले नै जफत गरी लिलामीमा बिक्री गरेर पैसा राजश्वमा दाखिला हुँदै आएको थियो, अहिले के गर्छन थाहाछैन, उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार अहिले दैनिक जसो उपत्यका भित्रिने लामा रुटका सवारीसाधनमा यात्रुहरुले व्यक्तिगत प्रयोजनका लागि भन्दै पेट्रोल तथा डिजेल ल्याउँदै आएका छन् ।
तिनै कालोबजारीमा बिक्री हुँदै आएको प्रहरी दावी भएपनि प्रमाण फेला नपरेपछि प्रहरीले छाड्दै आएको छ । पोखरेलका अनुसार उपत्यकामा अहिले नीजि ६० प्रतिशत र सार्वजनिक ३५ प्रतिशत सवारीसाधन सञ्चालनमा छन् । समान्य अवस्थामा उपत्यकामा दैनिक करिब ६ लाखका हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी एसपी पोखरेलले दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment