Saturday, November 14, 2015

सिमेन्ट उद्योगमा चिनीया कम्पनीले नेपालमा साढे ५२ अर्ब लगानी गर्ने

२८ कात्तिक, काठमाडौं । चिनियाँ सरकारी स्वामित्वको हुवाजिन सिमेन्ट कम्पनीले नेपालमा उद्योग स्थापना गर्न करिब ५२ अर्ब ६१ करोड रुपैयाँ (५० करोड अमेरिकी डलर) लगानी ल्याउने भएको छ । वैदेशिक लगानी ल्याउन सो कम्पनीले लगानी बोर्डमा प्रस्ताव गरिसकेको लगानी बोर्डले जनाएको छ । चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक सो कम्पनीलार्इ स्वीकृतिको अन्तिम तयारी भइरहेको बोर्ड स्रोतले जनाएको छ । उसले आगामी २ वर्षमा कच्चापदार्थ क्लिंकर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउने योजना पेस गरेको छ । बोर्डले सिमेन्ट उद्योग स्थापनाका लागि यसअघि चीनकै हङकङ रेड लायन नम्बर ३ लिमिटेड (होङ्सी ग्रुप)लाई ३६ अर्ब रुपैयाँ लगानी ल्याउन स्वीकृति दिइसकेको छ । हुवाजिनसमेत गरी नेपालमा सिमेन्ट उत्पादन गर्न अनुमति पाउने विदेशी कम्पनीको संख्या ४ पुग्दैछ । यी कम्पनीले सिमेन्टमा मात्रै करिब १ खर्ब ८१ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउँदै छन्, जसमा चिनियाँ हिस्सा ८६ अर्ब रुपैयाँ छ । हुवाजिनले उद्योग स्थापना गर्ने ठाउँ र खानीको सम्भाव्यता अध्ययन गरिसकेको छ । कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कम्पनीको लक्ष्य छ । नेपालको सिमेन्ट बजारलाई हेरेर केही वर्षभित्र उसले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने लक्ष्य लिएको छ । हुवाजिन चीनका प्रमुख १० ठूला कम्पनीमध्ये एक हो । चीनकै होङ्सी गु्रपले हेटौंडास्थित शिवम् सिमेन्टमा लगानी गर्दैछ । यससँगै शिवममा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ । नाइजेरियाको डांगोटे ग्रुपलाई ५५ अर्ब, भारतको रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनी लिमिटेडलाई ४० अर्ब र चीनकै होङ्सी ग्रुपलाई ३६ अर्ब रुपैयाँ लगानी ल्याउन बोर्डले स्वीकृति दिएको हो । यी ३ वटै कम्पनीले उद्योग स्थापनाको प्रक्रिया अघि बढाइसकेको बोर्डले जनाएको छ । नेपालमा अहिले ४१ उद्योगले सिमेन्ट उत्पादन गर्छन् । तीमध्ये १ दर्जनभन्दा बढी उद्योग क्लिंकरमा आधारित छन् । सञ्चालनमा रहेका अधिकांश उद्योगले आफ्नो क्षमता विस्तार गर्दै लगेका छन् । सरकारले ०७३ पछि विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध लगाउन स्वदेशमै उत्पादन गर्न चाहने उद्योगलाई विशेष सुबिधा दिने घोषणा गरेपछि लगानीकर्ताको मुख्य आकर्षण सिमेन्ट बनेको छ । नेपालका ठूला र कर्पोरेट घराना पनि सिमेन्ट उत्पादन गर्न अग्रसर भएका छन् । सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ७७ वटा ब्रान्डका सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट मान्यताप्राप्त छन् । पीपीसी सिमेन्टका ३९, ओपीसीका २९ र पीएससीका ९ गरी ७७ वटा ब्रान्डले गुणस्तर प्रमाण चिह्न लिएर उत्पादन तथा बिक्री–वितरण गर्दै आएका छन् । हालको खपत वार्षिक झन्डै ३५ लाख मेट्रिक टन छ । तर, नेपालमा जडित कुल क्षमता भने ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि ऊर्जा संकटकै कारण अधिकांश उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । तर, बहुराष्ट्रिय कम्पनीले स्वदेशको बढ्दो आवश्यकता र छिमेकी मुलुकका सीमावर्ती सहरको सम्भावित बजारलाई समेत ध्यानमा राखेर यहाँ उद्योग खोल्ने योजना बनाएका हुन् ।

No comments:

Post a Comment