Tuesday, November 24, 2015

भारतले गर्‍यो ७२ प्रतिशत इन्धन कटौति, दिनमा औसत ४७५ मालबाहक गाडी भित्रिदै

८ मंसिर, काठमाडौं । अघोषित रुपमा नाकाबन्दी गरेको भारतले नेपाललाई दिने पेट्रोलियम पदार्थमा झण्डै ७२ प्रतिशत कटौति गरेको पाइएको छ । भन्सार विभागले तयार गरेको असोज र कात्तिक महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । असोज ८ गतेपछि भारत नाकाबन्दी कडा भएसँगै नेपाल आउने इन्धनको परिमाण ७१ दशमलव ८ प्रतिशतले कम भएको छ । अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा भारतले २८ दशमलव २ प्रतिशत मात्र पेट्रोलियम पदार्थ नेपालतर्फ पठाइरहेको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए । वीरगञ्ज नाका ठप्प रहेका बेला भारतले अन्य नाकाबाट पनि पट्रोलियम पदार्थ पठाउन आनाकानी गर्दै आएको छ । भारतले पेट्रोल र ग्यास दिन बढी कडाइ गरेको पाइएको छ भने डिजेल अन्य भन्दा केही बढी दिने गरेको तथ्याङ्कमा उल्लेख छ । भारतले नाकाबन्दी लगाएपछि भारतबाट ५ दिन मात्रै १ सय भन्दा बढी पट्रोलियम ट्यांकर भित्रिएको महानिर्देशक ढुंगानाले जानकारी दिए । मुख्य रुपमा भन्सार नाकाहरुमा पेट्रोलियम पदार्थमा अवरोध हुँदा भन्सार राजश्वको संकलन नराम्रोसँग प्रभावित भएको ढुंगानाले बताए । वीरगञ्ज भन्सारको राजश्वमा २७ प्रतिशत योगदान तेल र ग्यासले गर्ने अवस्थामा छ । तर, वीरगञ्ज नाका ६३ दिनदेखि ठप्प छ । नाकाबन्दीले भन्सार राजश्वमा ठूलो क्षति पुर्‍याएको विभागको निश्कर्ष छ । नाकाबन्दीका कारण मुख्य भन्सार नाका रक्सौलमा मात्रै १० किलोमिटर मालबाहक गाडीको लाइन लागेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । यसैगरी सुनौलीमा ३ हजार गाडी भन्सार पासको प्रतिक्षामा छन् । नाकाबन्दी अघि दैनिक २ हजार गाडी नेपाल प्रवेश गर्ने गरेकोमा अहिले औसतमा ४ सय ७५ वटा गाडी नेपाल प्रवेश गरिरहेका छन् ।

No comments:

Post a Comment