Friday, November 13, 2015
मोर्चाका कार्यकर्ताद्वारा वीरगञ्जस्थित एमाले कार्यालयमा आगजनी
२८ कात्तिक, वीरगञ्ज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले पर्साको वीरगञ्जस्थित नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् । शनिबार बिहान आएका मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
मधेस आन्दोलनलाई मत्थर पार्न एमालेले रणनीतिक रुपमा चियापान कार्यक्रम गर्न लागेको भन्दै मोर्चाले आगजनी गरेको हो । एमाले सम्बद्ध युवासंघले छठ, नेपाल संवत् र तिहारको अवसरमा चियापान कार्यक्रम गर्ने तयारी गरेको थियो । त्यसको तयारीस्वरुप कार्यकर्ताहरुले शुक्रबार पार्टी कार्यालयमा सरसफाईसमेत गरी सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गरेका थिए । मोर्चाले बैठक बसेर चियापान कार्यक्रम नगर्न चेतावनीयुक्त विज्ञप्ति निकालेपछि कार्यक्रम स्थगित गरिएको थियो ।
‘एमाले पर्साले कुनै कार्यक्रम नराखेको जानकारी गराउँदा गराउँदै शनिबार पार्टी कार्यालयमा आगजनी भयो,’ एमाले जिल्ला पार्टी कार्यालय पर्साका सचिव गंगा खड्काले भने, ‘मधेस आन्दोलनले अवस्था सामान्य नरहेकाले पार्टीले कुनै कार्यक्रम राखेको थिएन ।’
आगजनीबाट एमाले कार्यालयका फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन् । मोर्चाका कार्यकर्ताहरुले आगजनी पछि टायर बालेर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए ।
यसअघि मधेस आन्दोलन चर्किएकाबेला पनि मोर्चाका कार्यकर्ताहरुले एमाले पर्सा कार्यालयमा आगजनी गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment