Saturday, November 14, 2015

प्रचण्डसँग भेटेर बाबुरामले भने, 'अब अति भो, समाधान छिटो खोजौं'

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरुको टोलीले उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी मुलुकमा उत्पन्न असहज अवस्था तत्‍काल अन्त्य गर्नुपर्ने सुझाव दिएको छ। दाहाल निवास लाजिम्पाटमा शनिबार बिहान भएको भेटमा तराई मधेसको आन्दोलन र नाकाबन्दीले मुलुकको आर्थिक अवस्थामा खराब संकेत देखिन थालेको र जनताको दैनिक जीवन पनि कष्‍टपूर्ण हुँदै गएको उल्लेख गर्दै तत्काल समाधान खोजिनुपर्नेमा जोड दिइएको थियो। तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न र उनीहरुका जायज मागलाई पुरा गर्न पनि भट्टराई नेतृत्वको टोलीले आग्रह गरेको छ। दुई महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिनका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने र भारतसँगको असमझदारी अन्त्य गर्न राजनीतिक र कुटनीतिक दुवै तहमा प्रभावकारी पहल हुनुपर्ने भनाइ भट्टराईले राखेका थिए। स्रोतका अनुसार भेटमा प्रचण्डले तराई–मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न आफूहरु लचिलो र सकारात्मक रहेको तर भारतले नाकाबन्दी गरेर पेल्न खोजिरहेको बताएका थिए। भेटमा बाबुरामले 'अब अति भो, समाधान छिटो खोजौं' भनेका थिए। नाकाबन्दी र जारी आन्दोलनबाट सिर्जित समस्यालाई सकारात्मकरुपमा समाधान गर्न नागरिक अगुवाले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको सुरुवात गरेको सहभागीले जनाएका छन् । नागरिक अगुवाले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तर्राष्ट्रिय पक्षसँग पनि भेटघाट तथा छलफल गरी वातावरण सहज बनाउन सकारात्मक पहलका निम्ति अभियान चलाउने सचिवालयले उल्लेख गरेको छ । उक्त अभियानमा नागरिक अगुवाहरु डा देवेन्द्रराज पाण्डे, डा पीताम्बर शर्मा, सीके लाल, कृष्ण हाछेंथु सहभागी छन्।

No comments:

Post a Comment