Monday, November 23, 2015
१७ पेट्रोल पम्प सिल
काठमाडौं- चिप्स प्रयोग गरी तेल वितरण गर्ने डिजिटल नोजल आफूअनुकूल बनाई उपभोक्ता ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका १७ पेट्रोल पम्प सिल गरेको छ। काठमाडौं र ललितपुरका पम्पबाट पक्राउ गरिएका आठ सञ्चालक र पाँच प्राविधिकविरुद्ध प्रहरीले ठगी आरोपमा अनुसन्धानसमेत अगाडि बढाएको छ।
काठमाडौंका १६ र ललितपुरको एक पम्पमा छापा मारेर प्रहरीले ८ जना पम्प सञ्चालक र ५ जना प्राविधिकलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरू उपभोक्ता ठगीमा संलग्न रहेको भन्दै अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतबाट सोमबार म्याद लिएको छ। 'तत्काल ठगी मुद्दामा अनुसन्धानका लागि म्याद लिएका छौं,' महानगरीय प्रहरी अपराध महशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, 'यससँगै कालोबजारीमा समेत जोडेर अनुसन्धान अगाडि बढाउँछौं।'
भारतबाट प्राविधिक ल्याएर नोजलमा चिप्स जडान गरी रिमोटमार्फत उपभोक्तालाई तोकिएभन्दा कम परिमाणको इन्धन दिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार र सोमबार गरी १७ वटा पम्पमा छापा मारी चिप्स र रिमोट कन्ट्रोलसहित सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको थियो।
महाशाखाले आइतबार महालक्ष्मी पेट्रोल पम्प, बालकुमारी पम्प, क्रिस्टल पेट्रोल पम्प, युनिक पेट्रोल पम्प र प्रशान्त आयल स्टोरलगायत १६ वटा पम्पमा छापा मारेर चिप्स र रिमोटसहित सञ्चालक र प्राविधिकलाई पक्राउ गरेको थियो। सोमबार चाबहिलको पुष्पाञ्जलि पप्पमा छापा मारेर सिल गरेको थियो। नौवटा पम्पका सञ्चालक पक्राउ परेका छैनन्।
नापतौल विभागको अनुमतिमा पम्पहरुको मर्मत जिम्मा पाएका भारतीय नागरिक आयोव आलमको सहयोगमा पम्प सञ्चालकले डिजिटल नोजलको परिमाण आफूअनुकूल बनाएर ठगी गर्न चिप्स जडान गरी रिमोटमार्फत नियन्त्रण गर्ने गरेको खुलेपछि महाशाखाले आयोवसहित ६ प्राविधिकलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाले प्रारम्भिक बयानमा उपत्यकाका १७ पम्पमा आफूले यस्तो प्रविधि जडान गरिदिएको र त्यसबापत प्रतिपम्प ३० हजार लिने गरेको स्विकारेपछि प्रहरीले आलमलाई आफूसँगै लिएर उनले चिप्स जडान गरेका पम्पमा छापा मारेको थियो। छापा मार्दा आलमले दाबी गरेअनुसारकै रिमोट र चिप्स फेला परेपछि सञ्चालकलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा नौ महिनाअगाडि उनीहरुले चिप्स जडान गरेर उपभोक्तालाई ठगी गरिरहेको खुलेको छ। चिप्स जडान गरेपछि नोजललाई रिमोटमार्फत नियन्त्रण गरी १ सय लिटरमा ४ लिटरसम्म कम तेल दिए पनि अंक भने उही देखाउने गरेको जानकारी दिँदै ठगीमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment