Sunday, November 29, 2015

पानीमुनी आलु फलाउन व्यस्त रामभरोष (फाेटाेफिचर)

ललितपुर-पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ। नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी गरेर घरमै बसेका रामभरोष नेपालले सुरु गरेको यस प्रविधिप्रति सबै छक्क छन् । उक्त फार्म हाउस अवलोकन गर्न दिनदिनै यसप्रति चासो राख्ने व्यक्तिको लर्को नै लाग्ने गरेको स्थानीय बताउँछन् । परिषद्मा वरिष्ठ प्राविधिक अधिकृतका रुपमा आलु महाशाखामा ३० वर्ष काम गरेको अनुभवको आधारमा यस पेसामा लागेको नेपालले बताए। फार्म हाउस सञ्चालनका लागि प्रतिवर्ष रु एक लाख ५० हजार भाडा तिर्ने गरी १० रोपनी जग्गा भाडामा लिएको उनले बताए । "मागबमोजिम उत्पादन गर्न सकेको छैन" नेपालले भने। उक्त आलुको बीउ उत्पादनका लागि १२ आना मात्र जग्गा प्रयोग गरिएको छ । वर्षको दुई पटक मात्र बीउ उत्पादन गर्न सकिने आलुको पाँचवटा जात रहेको जनाइएको छ । विशेष गरी यसरी उत्पादन हुने आलुमा खुमल उज्वल, जनकदेव, कार्डिनल, कुप्रेज्योति र डिजिरे कार्डिनल रहेको उनले बताए। यसरी उत्पादनका भएका आलुको बीउ कृषि विकास कार्यालय तथा कृषक समूहले खरिद गर्ने गरेको बताइएको छ । वार्षिक रुपमा एक लाख आलुको दाना उत्पादन हुने गरेकामा खरिदकर्ताको माग भने त्यसको छ गुणा बढी रहेको नेपालको दाबी रहेको छ । उत्पादन भएका बीउ प्रतिकिलोमा नभई प्रतिदानामा बिक्री हुने गरेको छ । सानो दाना आलुको मूल्य रु १० र ठूलो दानाको मूल्य रु १५ का दरले बिक्री गर्ने गरेको उनले बताए। सानो दाना करिब १० ग्राम र ठूलो २५ ग्रामसम्म बीउ रहने गरेको छ । उक्त व्यवसाय सुरु गर्न रु ८७ लाख लगानी भएको उनको भनाइ छ । कृषि व्यावसायिक परियोजना सरकारको तर्फबाट रु ३५ लाख अनुदान तथा आव २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख अनुदान उपलब्ध गराएको कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिए। रासस

No comments:

Post a Comment