Wednesday, December 23, 2015

डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात घटाउन विकास समितिको निर्देशन

८ पुस, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको आयात घटाइ विद्युतबाट चल्ने साधनलाई प्रवर्द्धन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले बुधबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, विज्ञान मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेल, काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ लगायतलाई बोलाएर छलफल गरी विद्युतबाट चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्न निर्देशन दिएको हो । समितिले भारतको नाकाबन्दीका कारण डिजेल र पेट्रोलको अभाव हुँदा सवारी साधन सहजरुपमा चल्न नसकेको सन्दर्भमा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए । समितिले हालको सार्वजनिक यातायात अव्यवस्थित भएको भन्दै सेवाग्राहीले लाभ पाउने गरी स्वच्छ वातावरणमा चुस्त व्यवस्थापनसहित सार्वजनिक यातायात संचालन गर्न पनि निर्देशन दिएको छ । समितिले हाल पेट्रोल र डिजेलबाट चलिरहेका सवारी साधनलाई विद्युतीय उर्जाबाट चल्ने बनाउने सम्बन्धमा आपसमा समन्वय गरेर काम गर्न भौतिक पूर्वाधार, उर्जा र विज्ञान मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा समितिले निर्देशन दिनुपहिले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले सरकारमा आगलागी भएपछि इनार खन्ने प्रवृत्ति हावी रहेको बताए । उनले सरकारले दीर्घकाललाई ध्यान दिएर काम नगर्ने गरेको परिणाम इन्धनको अभाव हुँदा मुलुकको सबै क्षेत्र प्रभावित भएको भन्दै अहिलेको घटनाबाट पाठ सिकेर काम गर्नुपर्ने बताए । बैठकमा विज्ञान मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल र काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले वातावरण संरक्षण र मूल्यका हिसाबले विद्युतीय सवारीसाधन बढी प्रभावकारी हुने भन्दै विद्युतीय सवारी साधन चलाउनका लागि सरकारले पूर्वाधारमा ध्यान दिनुपर्ने बताए । बैठकमा समितिका सदस्यहरुले भने विद्युतको अभावमा दैनिक १० घण्टा लोडसेडिङ भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको सञ्चालन भन्दा विद्युत उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।

No comments:

Post a Comment