Monday, December 21, 2015
चितवनको सौरहामा ‘हात्तीको पिकनिक’ !
पुस, काठमाडौं । मान्छेहरु पिकनिक गएर रमाउनु हाम्रो समाजमा कुनै नौलो कुरा होइन । तर, ‘हात्तीको पिकनिक’ ! सुन्दा अचम्म लाग्न सक्छ, चितवनको सौरहामा गत वर्षदेखि हात्ती पनि पिकनिक जान थालेका छन् ।
सौरहामा वर्षेनी हुँदै आइरहेको हात्ती महोत्सवमा गएको वर्षदेखि ‘हात्तीको पिकनिक’ आयोजना गर्न थालिएको छ । यो वर्ष पनि ‘हात्तीको पिकनिक’ आयोजना गरिने बाह्रौं चितवन हात्ती महोत्सवका संयोजक सुमन घिमिरेले बताए ।
‘समाज संरक्षण र सम्वृद्धि’ भन्ने नारासहित क्षेत्रीय होटल संघ चितवनले पुस ११ देखि १५ गतेसम्म हात्ती महोत्सव हुँदैछ । गत वर्ष ‘हात्तीको पिकनिक’ दर्शकले मन पराइदिएको हुँदा यो वर्ष पनि निरन्तरता दिएको आयोजकको भनाई छ ।
भूकम्प, बन्द हडताल र नाकाबन्दीले धरासायी भएको मुलुकको पर्यटन प्रवर्द्धनका लागि हात्ती महोत्सव प्रभावकारी हुने आयोजकको विश्वास छ । लोप हुँदै गइरहेको हात्ती तथा अन्य वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउनु महोत्सवको मूख्य उद्देश्य रहेको घिमिरेले बताए ।
विगतका वर्षहरुमा हात्ती दौड भनिँदै आएकोमा यो वर्षदेखि ‘हात्ती लम्काई’ नामाकरण गरिएको छ । त्यस्तै, महोत्सवमा डुंगा दौड, गाडा दौड तथा टाँगाका विभिन्न गतिविध आयोजना गर्न लागिएको बताइएको छ ।
बाघमारा मध्यवर्ती सामुदायिक बनको चौरमा आयोजना हुने महोत्सवमा हात्तीका छावाबीच रोमाञ्चकारी फुटवल समेत हुनेछ । महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता हुनेछ भने हात्तीको दिनचर्याबारे पनि जानकारी गराइने भएको छ ।
महोत्सवमा हात्ती लम्काई प्रतियोगिताका लागि २० वटा हात्ती, फुटवल प्रतियोगितका लागि ४ टीम, श्रृंगार प्रतियोगितका लागि ५ वटा हात्ती रहने संयोजक घिमिरेले जानकारी दिए । त्यस्तै, गाडा दौडका लागि २०, टाँगा दौडका लागि १८ र डुङ्गा दौडका लागि १० वटा टिम रहेका छन् ।
आयोजकले वन तथा वन्यजन्तु संरक्षणका उत्कृष्ट कार्य गर्ने एक जनालाई पुरस्कार दिने बताएको छ । पर्यटन प्रवर्दनमा योगदान पुर्याउनेलाई कदर पत्र र सौरहाको पर्यटन विकासमा कमल चलाउने पत्रकारलाई नगद १० दश हजारसहित पुरस्कृत गरिने भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment