Thursday, December 24, 2015

सीमांकन नभई मधेसी मोर्चाले हस्ताक्षर गर्दैनन् : प्रचण्ड

९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन नमिलुन्जेलसम्म मधेसी मोर्चाले कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् । तर, संविधान संशोधनको विधेयकको भाषामा चित्त बुझे मौन बसेर सहयोग गर्ने बताए । रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भने-वार्ता, सम्वाद र सहमतिको विकल्प छैन । शुक्रवार (भोलि) मधेसी नेताहरुसँग छलफल गर्दैछु । मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ ।’ उनले अघि भने-सीमांकन नमिलुन्जेलसम्म उहाँहरुले हस्ताक्षर त गर्नु हुन्न भन्ने मलाई लाग्छ । तर, पुनर्निर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्न मौन बसेझै संविधान संशोधन विद्येयकमा पनि मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।’ शुक्रबारको छलफलले संविधान संसोधन विद्येयकको भाषामा सहमति जुटाउने उनको विश्वास थियो । आफूले सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग कुरा गरिरहेको भन्दै उनले भने-‘चिजहरु सकारात्मक छन्, समाधान हुन्छ भन्नेमा म आशावादी छु ।’ प्रचण्डले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरु सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङग्याउने विषयमा सहमति जुटाउन आफू केन्दि्रत रहेको बताए । संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारवीच बि्रजिङको भूमिकामा सक्रिय रहेको उनले बताए । उनले भने-‘सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुंग्याउने विषयमा मधेसवादी दलहरु सहमतिमा आउनुपर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।’ सरकारको चार बुँदे मार्गचित्रमा भारतको स्वागतपछि विषय सकारात्मक दिशातिर गएको भन्दै उनले दुई देशको सम्बन्धमा मधेसलाई ल्याउन नहुने बताए । प्रचण्डले भने-नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउनुको विकल्प छैन । नेपालको मन्त्रिपरिषदको निर्णयलाई भारतले स्वागत गरेपछि अब नाका सहज हुने अवस्था सृजना भएको छ ।’ उनले अघि भने- मधेसको समस्या हाम्रो आन्तरिक समस्या हो । अब यसलाई हामीले नै समाधान गर्नुपर्छ । दुई देशको सम्बन्धको वीचमा मधेसलाई ल्याएर राम्रो हुँदैन ।’

No comments:

Post a Comment