Wednesday, December 23, 2015
काठमाडौंमा कठ्यांग्रिने चिसो, तापक्रम अझै तल झर्ने
काठमाडौं: दुई वर्षयताकै सबैभन्दा कम तापक्रममा झरेको काठमाडौं अझै चिसिने अनुमान मौसमविद्ले गरेका छन्। बुधबार बिहान ०.९ डिग्री सेल्सियस पुगेको काठमाडौंको न्यूनतम तापक्रम मौसमविद्ले अनुमान गरेभन्दा छिटो तल झरेको हो।
अहिले उत्तरपश्चिमतर्फबाट चल्ने हावाका कारण कठ्यांग्रिएको काठमाडौंमा मौसमको यही अवस्था रहे केही दिनभित्रै न्यूनतम तापक्रम माइनसमा झर्न सक्ने अनुमान मौसमविद्को छ। विश्वभरिका मौसम अनुमान केन्द्रहरूले पनि काठमाडौंको तापक्रम तल झर्ने र घामलाई पनि हुस्सुले छेक्ने क्रम केही दिन जारी रहने जनाएका छन्। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्ष एक महिनाअघि नै तापक्रम शून्यभन्दा तल झरेको बताए। महाशाखाको रेकर्डअनुसार गत वर्षको सबैभन्दा कम तापक्रम जनवरी ३० मा १.४ डिग्री थियो।
गत वर्ष यसभन्दा तल न्यूनतम तापक्रम झरेन। 'यस वर्ष छिटो चिसो बढ्यो। भर्खर विन्टरमा प्रवेश गरेका छौं । यस्तै अवस्था कायम रहे, तापक्रम अझै घट्छ,' श्रेष्ठले भने।
गत वर्ष डिसेम्बरमा काठमाडौंको तापक्रम १.४ डिग्री सेल्सियस थियो। मनसुन टाढिएपछि चल्ने उत्तरपश्चिम हावाले काठमाडौंलगायत देशका विभिन्न भागमा चिसो बढाउँछ।
नेपालको उत्तरतर्फका हिमालपारिबाट आउने हावाले तापक्रम घटाउँछ। 'जम्मुकास्मिर तथा हिमाञ्चलबाट आउने हावाले हामीलाई सीधा असर गर्छ,' श्रेष्ठले भने। मनसुनका बेला पूर्वबाट पश्चिमतर्फ हावा चल्छ।
पश्चिमतर्फबाट आउने हावाले पानीको जलवाष्प पनि सँगै लिएर आउँछ। यही बाफ मिसिएको हावाले जाडोयाममा पानी पार्छ। मौसमविद्ले भने केही दिन काठमाडौं आसपासमा पानी पर्ने सम्भावना नरहेको बताएका छन्। श्रेष्ठले भने, 'नेपाल आउने हावामा मोस्चर नभएका कारण दुईतीन दिन पानी पर्ने सम्भावना देखिँदैन।'
भर्खर जाडोयाम सुरु भएका कारण अब पर्ने पानीले चिसो अत्यधिक बढाउने मौसमविद्ले बताएका छन्। पछिल्लो समयमा हिउँदे वर्षा हुने क्रम पछि सर्दै गएको छ।काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार पछिल्लो समयमा नेपालको हिउँदे तथा मनसुनी वर्षामा ठूला परिवर्तन देखिन थालेका छन्।
हिउँदमा हुने वर्षा केही पछि सरिरहेको छ भने वर्षाको मात्रामा पनि कमी आएको पाइएको छ। चिसो बढेसँगै काठमाडौंमा बिहान हुस्सु र बाक्लो तुवाँलो लाग्ने महाशाखाले जनाएको छ।'जाडोयाम सकिने बेलामा पर्ने पानीले गर्मी बढाउँछ तर अहिले त्यस्तो बेला होइन,' श्रेष्ठले भने।
हिउँदमा पश्चिमतर्फबाट आउने हावासँगै मिसिएको जलवाष्पको मात्रा वृद्धि हुनु नै बाक्लो कुहिरो लाग्नु र शीतलहर चल्नुको प्रमुख कारण हो। महाशाखाले भने अहिले तराईमा शीतलहर ठूलो समस्याका रूपमा नदेखिएको जनाएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment