Wednesday, December 23, 2015
आज राजधानीको तापक्रम शून्यमा झर्यो
पुस ८, २०७२- बुधवार राजधानीको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विहान ८:४५ को न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको हो । यो हिउँदकै सबैभन्दा कम तापक्रम हो ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै न्यूनतम तापक्रममा गिरावट आउन सक्ने बताए । ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घटिनै रहने देखिन्छ’ श्रेष्ठले कान्तिपुरलाई भने, ‘माईनसमा पनि झर्न सक्छ ।’ मंगलवार राजधानीको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।
मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार हिउँदमा राजधानीको तापक्रम माईनस २.६ सम्म झरेको रेकर्ड छ । राजधानीमा केहीबेर अघिको अधिकतम तापक्रम भने १५.५ डिग्री सेल्सियस रेकर्ड भएको महाशाखाले जनाएको छ ।
बढ्दो वायू प्रदूषणका कारण सूर्यका किरण जमिनमा आउन नपाएको र हावा नचलेका कारण तापक्रममा पनि गिरावट आएको हो । कचौरा आकारको राजधानीको वायुमण्डलमा प्रदूषण तैरिएर बसेको धेरै भइसकेको छ ।
पानी परेमा यो प्रदूषण हट्ने र तापक्रममा पनि सुधार आउने मौसमविद्हरुको भनाई छ । अहिले तत्काल पानी पर्ने कुनै प्रणाली विकास हुने सम्भावनासमेत देखिएको छैन । नेपालसहित चीन र भारतमा पनि प्रदूषणका कारण चिसो बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment