Thursday, December 17, 2015
मधेस आन्दोलन मानवता विरोधी : रामचन्द्र पौडेल
सभापतिमा कोइराला र देउवाले सघाउने दाबी
विराटनगरः नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सुशील कोइराला र शेरबहादुर देउवाको सहयोगबाट आफू पार्टीको सभापति बन्ने बताएका छन्
कांग्रेसको आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने टुंगो लागिसकेको बताउँदै पौडेलले त्यसका लागि कोइराला र देउवाबाट सहयोग हुने बताए ।
‘महाधिवेशनमा मलाई सभापतिको उम्मेदवार बन्न दुबै बरिष्ठ नेताले मलाई सहयोग गर्नु हुनेछ’, उनले दाबी गरे ।
सुनसरीमा हुने कार्यक्रममा सहभागी हुने आउने क्रममा मंगलबार विराटनगर विमानस्थलमा पौडेलले कांग्रेसको नेतृत्व महाधिवेशनपछि रुपमान्तरण हुने पनि बताए ।
मधेसमा जारी आन्दोलनबारे बोल्दै पौडेलले आन्दोलन मानवता विरोधी भएको र यसले सीमा नाघेको आरोप लगाए । उनले भने, ‘आन्दोलनका नाममा जनतालाई समस्यामा पारेर मुलुकमा संकट निम्त्याउने काम मात्र भएको छ ।’
पौडेलले जनता र मुलुकको लागि भनिएको आन्दोलनमा मानवीय संवेदना हराउँदै गएको पनि बताए ।
‘जनताले यति धेरै दुःख पाएर मुलुक गहिरो संकटमा फस्दा पनि आन्दोलनकारीलाई कुनै चिन्ता छैन,’ उनले भने, ‘आन्दोलनले जनता भोकभोकै छन् । मुलुक आर्थिकरुपमा कमजोर बनिसक्यो ।’
पौडेलले आन्दोलनकारीलाई आन्दोलन छाडेर वार्ताबाट समस्याको निकास खोज्न आग्रह गर्दै जनता र मुलुकले पाइरहेको दुःखमा सहयोग गर्न आग्रह गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment