Wednesday, December 30, 2015

नेपालीले रेलको शौचालयमै जन्माएको बच्चा लिकमा खसेपछि…

१५ पुस, काठमाडौं । भारतमा रेल यात्रा गर्दागर्दै एक नेपाली आमाले छोरी जन्माइन् । तर, यो भन्दा ठूलो संयोग अर्को भयो । रेलको शौचालयमा जन्माएकी बच्चा रेलको लिकमा खसेर पनि भाग्यवस बाँच्न सफल भइन् । रेल्वेको लिकबाट उद्दार गरिएकी उनलाई अहिले उपचारका लागि अस्पताल भर्ना गरिएको छ । टङ्कपुर इज्जतनगरबाट ट्रेन छुटेको केहिबेरपछि नै बाथरुममा गर्भवती महिलाको चिच्याहट सुनिएको थियो । अन्य यात्रुहरुले ढोका खोलेर हेर्दा बच्चा जन्मेर उनको रक्तस्राव भइरहेको रहेछ । महिला ट्रेन रोकिदिन हारगुहार गरिरहेकी थिइन् । केहि मिनेटभित्रै यात्रुहरुले ‘अलार्म चेन’ ताने र ट्रेनलाई रोकिदिए । तर, बालिका चिप्लेर प्यानभित्र खसेकी थिइन् र बच्चा रेलको लिकमा खस्यो । भारतीय रेलहरुमा हुने शौचालयमा शौच सिधै रेलको लिकमा खस्छ । त्यहाँ शौच जम्मा हुने कुनै ट्यांकी कुँदैन । तत्कालै रेल्वे प्रहरीलाई बोलाइयो । उनीहरुको सहयोगमा खोजी गर्दा रेलको ट्र्याकमा बालिका जिवितै भेटिएकी थिइन् । आमा र बच्चालाई अस्पताल पुर्‍याइएपछि बच्चीको ज्यान जोगिएको हो । ट्वाइलेटबाट रेलको लिकमा खसेर पनि बाँच्न सफल बालिकालाई ‘मिराकल बेबी’ भन्न थालिएको छ । इज्जतनगरका डिभिजनल रेल्वे म्यानेजर चन्द्र मोहन जिन्दालले भने-‘यो एउटा चमत्कार नै हो । ट्रेनका यात्रु र रेल्वे प्रहरीको पनि यसमा ठूलो हात छ ।’ अनुसन्धानका क्रममा ती सुत्केरी महिला नेपालको कञ्चनपुर जिल्लास्थित मोहन नगर भगतपुरमा बस्ने पुष्पादेवी भएको पुष्टी भएको छ । आफू आँखा जचाउनका लागि बरेलीमा आएको र यात्राको क्रममा प्रसव पिडा सुरु भएको उनले बताएकी टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment