Tuesday, December 22, 2015

दिल्लीको प्रदुषणले काठमाडौंमा अध्याँरो

काठमाडौं : नेपालको उत्तरी र दक्षिणी छिमेकी देश चिनको बेइजिङ र भारतको नयां दिल्लीले वायु प्रदुषणको डरलाग्दो अवस्था भोगिरहँदा नेपालमा भने प्रदुषणको अवस्थाबारे सरकारलाई पटक्कै चिन्ता छैन। बैज्ञानिकहरुले बेइजिङ र दिल्ली प्रदूषणको असर काठमाडौंमा परेको बताइरहँदा यसबारे सरकार भने बेखबर मात्रै होइन,उदासिन देखिएको छ। बैज्ञानिकहरुले दिल्ली तथा उत्तरी भारतको प्रदुषण काठमाडौंसम्म आइपुग्दा वायु प्रदुषणको अत्यन्तै खराब अवस्थामा पुगेको बताएका छन्। केही दिनयता राजधानीमा जाडो बढ्नु र घामको ताप घट्नु र दिउँसै अध्याँरोजस्तो हुनु प्रदुषणकै कारण भएको मौसमविद्हरुले बताएका छन् । उपत्यकाको आकासमा जम्मा भएको धुलो र धुवांले घामको प्रकाश छेकेपछि जाडो बढेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको प्रदुषण अध्ययन गरिरहेको जर्मनीस्थित इन्स्टीच्यूट फर एड्भान्स सस्टेनबलिटी स्टडीज (आइएएसएस) का बैज्ञानिक डा. महेश्वर रुपाखेतीका अनुसार, जाडोयाममा काठमाडौंमा अझ धेरै प्रदुषण हुन्छ । ‘जाडोयाम र प्रि मनसुनका समयमा उत्तरी भारत र नेपालबाटै निस्किएको प्रदुषणले काठमाडौंलाई सबैभन्दा धेरै असर गर्छ,’ डा. रुपाखेतीले अन्नपूर्णसँग भने, ‘भौगोलिक वनावटका कारण पनि नेपालकै अन्य भागको प्रदुषण पनि काठमाडौंसम्म आइपुग्छ,’ हावा पनि कम चल्ने र गुम्म परेको मौसमका कारण उपत्यकाभित्र जम्मा भएको प्रदुषण र धुलाका कण बाहिर जान पाउदैन । काठमाडौं उपत्यकाभित्रै पनि इट्टाभट्टा तथा अन्य कलकारखाना र सवारीसाधनले पनि वायुप्रदुषण बढाइरहेको छ । छिमेकी दुबै देशले वायु प्रदूषणले स्वास्थ्य समस्या देखिने चेतावनी दिदै सचेतना अपनाउन सर्वाजनिक अनुरोध गरिरहेको छ । दिल्लीमा प्रदुषण उच्च भएपछि सरकारले जोर बिजोर प्रणालीमा सवारीसाधन चलाउने निर्णय गरिसकेको छ भने चिनले रेड अलर्ट (विशेष सावधानी सूचना) जारी गरिसकेको छ । प्राथमिक तहका स्कुल तथा उद्योग र कलखाना बन्द गरिएको छ भने घर बाहिर धेरै गतिविधी नगर्न निर्देशन दिएको छ । भारतले नीजि कार जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय गरिसकेको छ । कोइला तथा अन्य पावर प्लान्ट बन्द गर्ने निर्णय पनि गरेको छ । नेपालमा प्रदुषण अनुगमन गर्ने सरकारी निकाय वातावरण विभागसँग भने एक वर्षयताको प्रदुषण अवस्थाबारे कुनै जानकारी नै छैन । अहिले पनि दिल्लीमा देखिएको प्रदुषण काठमाडौं तथा तराईसम्म उल्लेख्य मात्रामा आइपुगेको अनुमान बैज्ञानिकहरुको छ । दिल्ली तथा आसपासका क्षेत्रमा सञ्चालन भइरहेका उद्योगधन्दा, कलकारखाना तथा सवारीसाधनबाट निस्कने धुवा तथा प्रदुषण हावासँगै काठमाडौंसम्मै आइपुग्ने यसअघिका विभिन्न बैज्ञानिक अध्ययनहरुले पनि पुष्टी गरेका छन् । पञ्जावमा गहुको छ्वाली जलाउदा तथा राजस्थानबाट धुलोका कण (डस्ट हेज) काठमाडौंसम्म आइपुगेका बैज्ञानिकहरुले प्रमाणित गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) मा वायु प्रदुषणबारे अध्ययन गरिरहेका बैज्ञानिक अरनिको पाण्डेका अनुसार, भारतबाट सबैभन्दा धेरै प्रदुषण आउछ । ‘उत्तरतर्फबाट नगन्यमात्रै आइपुग्छ, उत्तरी भारतबाट सिधा आउछ,’ पाण्डेले भने । कचौरा आकारको काठमाडौंमा जम्मा भएको प्रदुषण हत्तपत्त बाहिर जादैन । आइएएसएसले केही वर्षपहिले गरेको अध्ययनले काठमाडौं उपत्यकामा मर्निङ वाक सबैभन्दा हानीकारक भएको निश्कर्ष निकालेको थियो । सांझ र राती जम्मा भएको प्रदुषण तथा खाना पकाउदा निस्किएको धुवा उपत्यकाभित्रै जम्मा भएर बस्ने भएकोले बिहान सबैभन्दा धेरै प्रदुषण हुने तथ्य सार्वजनिक भएको थियो । बैज्ञानिकहरुले काठमाडौंका विभिन्न २२ स्थानमा ६० आधुनिक प्रविधीले अध्ययन गरेका थिए । पछिल्लो समय वायु प्रदुषण डरलाग्दो वातावरणीय संकट बनिरहेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) का अनुसार, दुई दशकसम्म प्रदुषण यसरी नै बढिरहे नेपालमा वर्षेनी २५ हजारको मृत्यु प्रदुषणकै कारण हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओे) का अनुसार, पीएम १० प्रदुषण को मात्रा ५० तथा नेपालको मापदण्ड अनुसार एकसय २० पीएम१० हुनुपर्छ । तर अघिल्ला वर्षहरुको तथ्यांक अनुसार, काठमाडौंमा वायु प्रदुषण को मात्रा पाँचयसभन्दा माथी छ । प्रदुषणका कारण दम, मुटु तथा फोक्सोसम्बन्धी दीर्घकालिन रोग लाग्छ । नाकबाट हानिकारक धुलोका रसायनिक पदार्थ मिसिएका कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गरेपनि क्यान्सरजस्ता रोग लाग्छ । सरकारले उपत्यका विभिन्न छ स्थानमा राखेको प्रदुषण मापक यन्त्र बिग्रीएपछि पछिल्लो एक वर्षयताको अवस्थाबारे कुनै जानकारी छैन । वातावरण विभागका उप महानिर्देशक सुरेन्द्र सुवेदीले यन्त्र बिग्रीएपछि प्रदुषणको अवस्था अज्ञात रहेको बताए । उनले भने,‘हामीसंग भएका सबै यन्त्र बिग्रीए । छिमेकी देशको प्रदुषणको असर हामीसम्म आइपुगे पनि कति र कस्तो तहमा छ भन्न सकिने अवस्था छैन,’ सरकारले प्रदुषण मापन गर्ने नयाँ यन्त्र यन्त्र किन्ने निर्णय गरेको दुई वर्षसम्ममा पनि ल्याएको छैन । सुवेदीले तीन यन्त्र किन्ने प्रक्रिया अघि बढिसकेकोले केही समयभित्रै आइपुग्ने दावी गरे ।

No comments:

Post a Comment