Sunday, December 20, 2015

आन्दोलनकारी मारिएपछि रौतहटमा कर्फ्यु

रौतहट– प्रहरीको गोली प्रहारबाट एक प्रदर्शनकारीको ज्यान गएपछि प्रशासनले अनिश्चितकालको लागि कर्फयू आदेश जारी गरेको छ । गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि स्थिति सामान्य नहुँदा बाध्य भएर आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताए । घटनालगत्रै बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ४ बजेदेखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फयू जारी गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् । गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो । प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिए ।

No comments:

Post a Comment