Tuesday, December 29, 2015
नेपाली सेना र प्रहरीका मेसमा पनि बायोग्यासबाट खाना पाक्ने
१४ पुस, काठमाडौं । सेना सेना र नेपाल प्रहरीका सबै सबै इकाईमा खाना पकाउन बायोग्यास प्रयोग हुने भएको छ ।बायोग्यास प्लान्ट जडानका लागि केही दिनभित्रै वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र सुरक्षा निकायहरुबीच औपचारिक सम्झौता गर्ने तयारी छ ।
मुलुकमा उर्जा संकट गहिरिँदै गर्दा प्रहरी र सेनाले आफ्ना सबै मेसहरुमा बायोग्यास प्लान्ट निर्माण गर्न सहमति जनाएको जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले जानकारी दिए ।
सशस्त्र प्रहरीले मेसमा बायोग्यास प्रयोग सुरु गरिसकेको छ र ३ वर्षभित्र सबै मेसमा बायोग्यास प्लान्ट जडान गर्न सहमति भएको छ । हाल सशस्त्र प्रहरीको २० वटा इकाइमा प्लान्टको निर्माण भएको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।
तीन वटै सुरक्षा निकायको मेसमा बायोग्यास प्लान्ट जडान भएमा वाषिर्क रुपमा ७० हजार सिलिन्डर ग्यास बचत हुने मन्त्री पासवानले बताए । ‘सेना, सशस्त्र र नेपाल प्रहरी बायोग्यास जडान गर्न सहमत भइसकेका छन् । केही दिनमै यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ’ पासवानले भने ।
योजना अनुसार सेना, सशस्त्र र नेपानल प्रहरीका देशभरका ५ सय ४० वटा मेसमा बायोग्यास जडान हुने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए ।
इकाईमा रहेका सुरक्षाकर्मीको मलमुत्र र भान्साबाट निस्किने जैविक फोहोरबाट मेसहरुमा बायोग्यास उत्पादन गर्न लागिएको उनले बताए । चालु आर्थिक वर्षमा सशस्त्रका ८५ वटा मेसमा र अर्को वर्षमा ८५ वटा बायोग्यास प्लाण्ट निर्माण गर्ने समझदारी यसअघि नै भइसकेको छ ।
प्लाण्ट निर्माणपछि सुरक्षा निकायका सबै मेसमा खाना पकाउन बायोग्यासको प्रयोग गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोग तथा ६० प्रतिशत अनुदानमा सुरक्षा निकायले बायोग्यास प्लान्ट बनाउनेछन् ।
बायोग्यासबाट निस्कने जैविक मलबाट पनि सुरक्षा निकायलाई तरकारी सहयोग पुग्ने विश्वास गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment