Thursday, December 31, 2015

पुरुषलाई गेष्ट हाउसमा पुर्‍याएर लुट्ने युवती पक्राउ

१६ पुस, काठमाडौं । तपाईलाई कुनै युवतीले फकाएर डान्सबार वा गेष्टहाउसतिर जाउँ भनिन् भने के गर्नुहुन्छ ? सतर्क रहनुहोला, काठमाडौंमा एकजना पुरुष युवतीको फकाइमा बहकिएर गेष्टहाउसमा पुग्दा नराम्रोसँग लुटिएका छन् । काभ्रे घर भएकी २४ वर्षीया गीता भन्ने वर्षा तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाइन् । ती पुरुष मख्ख परेर सुरुमा डान्सबार र त्यसपछि गेष्ठ हाउसमा पुगे । गेष्ट हाउसमा पुगेपछि गीताले ती पुरुष निदाएको मौका पारेर उनका साथमा रहेको पाँच तोला सुन र एक थान मोबाइल उम्काउन सफल भइन् । पुरुषलाई झुक्याएर सुन तथा मोबाइल लुटेको आरोपमा महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले गीतालाई पक्राउ गरेको छ । उनले ठमेल पुगेका पुरुषलाई फकाएर डान्सबारमा लैजाने र त्यहाँबाट गेष्टहाउसमा पुर्‍याएर लुटपाट गर्ने गरेको डीएसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौंको ठमेलमा विभिन्न प्रलोभन देखाएर लुट्ने युवतीहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ । त्यस्ता युवतीहरुले विदेशबाट आएका नेपाली तथा विदेशीलाई फकाउने र गेष्ट हाउसमा लगेर लुट्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यस्तै महाराजगञ्ज वृत्तले काठमाडौंका विभिन्न स्थानबाट मोबाइल तथा ल्यापटप चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । लागू औषधसहित दुई पक्राऊ उता थानकोट वृत्तबाट खटिएको टोलीले लागुऔषध कोरेक्ससहित नुवाकोटका सुरेश गिरी र बाँके नेपालगञ्जका कुशल भट्टराई पक्राउ गरेको छ । उनीहरुले काठमाडौंमा विक्री गर्ने उद्देश्यसहित भारतबाट ९८ वटा कोरेक्स ल्याएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय काठमाडौंमा चोरी तथा लुटपाटसँगै लागुऔषध कारोवारीको पनि सक्रियता बढ्न थालेपछि प्रहरीले सक्रियता बढाउन थालेको काठमाडौं परिसरका एसपी विश्वराज पोखे्रलले जानकारी दिए ।

No comments:

Post a Comment