Thursday, December 31, 2015
पूर्वराजाका ज्वाइँको कम्पनीलाई आयल निगमसँग प्रतिस्पर्धा गर्न स्थायी अनुमति
१६ पुस, काठमाडौं । सरकारले पहिलोपटक पेट्रोलियम पदार्थको दीर्घकालीन आयात, भण्डारण र कारोबारका लागि निजी कम्पनीलाई स्थायी अनुमति दिएको छ । पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको समेत लगानी रहेको कम्पनीले यस्तो अनुमति हात पारेको छ ।
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आयात अनुमति दिन बनेको बोर्डले मालिका पेट्रोलियम प्रालिलाई नेपाल आयल निगमको प्रतिस्पर्धी कम्पनीका रुपमा स्थापना हुन सक्ने गरी इजाजतपत्र दिएको हो ।
दरबारमार्गमा कार्यालय रहेको मालिका पेट्रोलिम प्रालिका अध्यक्ष दीपक तिमल्सिना हुन् । मालिका पेट्रोलियममा पूर्व राजा ज्ञानेन्द्रका ज्वाँइ राजबहादुर सिंहको पनि लगानी रहेको स्रोतको दावी छ । तर, कम्पनीले त्यसलाई गुपचुप राख्न चाहेको छ ।
निजी क्षेत्रबाट पेट्रोलियम कम्पनी स्थापना गर्न चाहिने ५ अर्बमध्ये २५ करोड रुपैयाँ चुक्ता पुँजी जुटाएपछि मालिकालाई तेलको दीर्घकालीन कारोबार गर्ने बाटो खुलेको हो ।
पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश ०६९ अनुसार कुल चुक्ता पुँजीको ५ प्रतिशत रकम जुटाएपछि इजाजतपत्र जारी गर्न सकिन्छ । सुरुमा १० अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी आदेश मन्त्रिपरिषदबाट संशोधन गरी गत असोजमा ५ अर्ब रुपैयाँमा झारिएको थियो ।
सरकारी स्वामित्वको नेपाल आयल निगमसँग प्रतिस्पर्धाका लागि मालिकाले नेपाली बजारको मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरी कारोबार गर्ने दाबी गरेको वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।
त्यसो त सिक्किमका पेट्रोलियम व्यापारी अर्जुनबहादुर क्षेत्रीको बिराट पेट्रोलियम, शेरबहादुरका साला प्रदीपशम्सेर राणाको पेट्रोलिमेक्स र ब्लु लोटस पेट्रोलियमले तेल र ग्यास कारोबारमा आउने इच्छा देखाएका छन् । तर, चुक्तापुँजी नपुर्याएकाले तीनवटैले इजाजत पाएका छैनन् ।
यस्ता छन् शर्तहरु
सुरुमा २५ करोड रुपैयाँ चुक्ता पुँजी राखेको मालिकाले २ वर्षभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याएर आयल निगमसँग प्रतिस्पर्धामा उत्रनुपर्नेछ ।
मालिकाले तेल ल्याएर आफ्नै वितरण प्रणालीबाट बिक्री गर्नुपर्नेछ । तर, मन्त्रिपरिषदबाट निर्णय भए आयल निगम अन्तरगतका पम्पहरुले पनि मालिकासँग तेल किनेर बेच्नेछन् ।
निगमले आफ्नो घाटा पूर्तिका लागि किनेको मूल्य भन्दा धेरै बढाएर तेल बिक्री गरिरहेको छ । यस्तो अवस्थामा निजी क्षेत्र तेल कारोबारमा आए अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्य कायम हुने विश्वास गरिएको छ ।
स्थायी कारोबारमा आउनुअघि मालिकाले कम्तिमा २० हजार किलोलिटर क्षमताको भण्डार स्थापना गर्नुपर्नेछ । मालिकाले १४ हजार किलोलिटर डिजेल, ५ हजार किलोलिटर पेट्रोल र १ हजार किलोलिटर मट्टीतेल अट्ने ट्यांकहरु निर्माण गर्नुपर्ने महानिर्देशक कोइरालाले बताए ।
मालिका पेट्रोलियमले ग्यासको कारोबारका लागि पनि चुक्ता पुँजी जुटाइसकेको छ । नियमअनुसार ग्यास कारोबार गर्न ५ अर्बको चुक्ता पुँजी राख्नुपर्छ । त्यसको १० प्रतिशत अर्थात ५० करोड रुपैयाँ जुटाएपछि कम्पनीलाई इजाजत दिन सकिने प्रावधान छ ।
मालिकाले चुक्ता पुँजी जुटाएर ग्यासको पनि आयात, भण्डारण र कारोबारको समेत इजाजत मागेको महानिर्देशक कोइरालाले बताए । तर, त्यसबारे निर्णय भने भएको छैन । दीर्घकालीन रुपमा तेल र ग्यासको कारोबारमा संलग्न हुन भन्दै मालिका बाहेक अन्य ३ वटा कम्पनीले पनि आवदेन दिएका थिए ।
अहिले ६ महिनाको अस्थायी इजाजत लिएर बिराट र पेट्रोलिमेक्सले नेपालमा तेल आयात गर्न भने सुरु गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment