Sunday, December 27, 2015

मोर्चाको उग्र प्रदर्शनपछि जनकपुरमा झडप

प्रहरीबाट हवाई फायर, शैक्षिक संस्था ठप्प जनकपुरधाम : विराटनगरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो माथि प्रहरीद्वारा भएको दमनको विरोधमा जनकपुरमा मधेसी मोचाएले उग्र प्रदर्शन गरेको छ । आइतबार विहानैदेखि मोर्चाका कार्यकर्ताहरु नगरक्षेत्रमा विरोध प्रर्दशन गर्दै बजार तथा शैक्षिक संस्थानहरु ठप्प बनाएका छन् । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले विज्ञप्ती जारी गरी विराटनगरमा भएको घटनाको विरोध गर्दै एक दिनको लागि जनकपुरको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे । आन्दोलनकारीहरुले पर्यटन कार्यालय धनुषा, खानेपानी तथा सरसफाई कार्यालय र जिल्ला शिक्षा कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेका थिए । प्रर्दशनमा उत्रेकाहरुले स्थानीय जनक चोकमा गस्तीमा रहेका प्रहरीलाई घेरेर लखेट्न सुरु गरेपछि प्रहरी र प्रर्दशनकारीबीच केहीबेर झडप भएको थियो । जनकचोक र रामचोकमा भएको झडपको क्रममा प्रहरीमाथि ढुंगामुंढा गरिराखेका आन्दोलनकारी धपाउन प्रहरीले चार राउन्ड हवाई फायर र दर्जनौं सेल अंश्रुग्यास प्रहार गरेको थियो । मोर्चाले सद्भावना अध्यक्ष महतोलार्ई प्रहरीले लाठी प्रहार गरि घाइते बनाएपछि मधेसलाई तताउनका लागि प्रहरीलाई नगरक्षेत्रमाप्रवेश निषेध गर्ने बताएको छ । प्रहरीलाई हेर्नबित्तिकै आन्दोलनकारीहरुले आक्रमण गरी ढुंगामुढा हानेपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रमा सयौं प्रहरी परिचालन गरेको छ । सोहीक्रममा प्रहरीले एकदर्जन प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको हो । यसै क्रममा मोर्चाका कार्यकर्ताहरुले नगरक्षेत्रमा विरोधस्वरुप लाठी जुलुश प्रर्दशन गरे भने संघीय मधेसी गठबन्धनले भैंसी जुलुश निकालेको छ ।

No comments:

Post a Comment