Monday, December 21, 2015

अख्तियारको थुनामा बस्दिँन भन्दै कोषराजले निकाले १० करोड

धरौटी लिएर अनुसन्धान अघि बढाउने अख्तियारको निर्णय
६ पुस, काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले सोमबार अख्तियारको कार्यालयमा पुगेर वयान दिए । अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको भन्दै हिरासतमा बस्न आग्रह गरे । तर, वन्तले धरौटी जति पनि तिर्छु, हिरासतमा बस्दिँन भनेपछि उनीसँग १० करोड धरौटी मागिएको अख्तियार स्रोतले अनलाइनखबरलाई बतायो । अख्तियारले धरौटी तोक्नासाथ वन्तले तत्कालै १० करोड रुपैयाँ झिकाएपछि अख्तियारका कर्मचारी चित खाएको स्रोतले बतायो । साँझ ५ बज्दासम्म अख्तियारमा धरौटी गन्ने र बुझ्ने प्रक्रिया सकिएको थिएन । ‘अख्तियारले अनुसन्धानका क्रममा कानूनबमोजिम कसैलाई थुनामा राख्न वा धरौटीमा छाड्न सक्छ,’ अख्तियारका प्रवक्ता एवं सहसचिव कृष्णहरी पुस्करले अनलाइनखबरसँग भने- ‘अख्तियारले धरौटी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनु तहकिकातसम्बन्धी कानूनी प्रक्रियाभित्रैको कुरा हो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०४८ को दफा १९ (४) मा धरौटीबारे यस्तो प्रावधान छ- ‘भ्रष्टाचारको आरोपमा कारवाई चलाइएको व्यक्ति फरार भै बेपत्ता हुन सक्तछ भनी सम्झनुपर्ने कुनै मनासिव कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।’

No comments:

Post a Comment