
१ पुस, काठमाडौं । आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ ।
संसदको बुधबारको बैठक सुरु हुनासाथ मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिए । उनले आफूहरुको नाराबाजीका बीच मंगलबारको बैठकमा विधेयक पेश गरेकोबारे प्रश्न उठाए ।
यसअघि सभामुख स्वयंमले संसद अवरुद्ध भएको बेला बैठक अघि बढ्न सक्दैन भनेको तर, मंगलबार अर्को रुलिङ नगरी बैठक अघि बढाएको भन्दै सांसद कर्णले नियमापत्ति गरे । ‘सरकारले जे भन्छ, त्यही गर्ने हो भने रुलिङ गर्नुस्’ कर्णले भने-‘ठूलो पार्टीको मात्र संसद हो, सानो पार्टीको कुनै अर्थ छैन भनेर रुलिङ गर्नुपर्यो । होइन भने सच्याउनुपर्छ ।’
उनले अर्को रुलिङ नभएसम्म संसद बहिस्कार गर्ने घोषणा गरे । लगतै मोर्चाका सांसदहरु बाहिरिए ।
पुनर्निर्माण विधेयकमा समर्थन
कर्णले संसदमा पेश भएको पुनर्निर्माण विधेयकमा भने मधेसी मोर्चाको समर्थन रहेको बताएका छन् । मधेसी मोर्चाले यसअघि पपन मानवीय विषयसँग जोडिएको भन्दै विधेयक पास हुन दिने बताएको थियो ।
साना दलका सांसदले सभामुखलाई तिरिखिरी बनाए
बैठक सञ्चालनको अनुभव लिने क्रममै रहेकी सभामुख ओनसरी घर्तीलाई बुधबार साना दलका सांसदहरुले तिरिखिरी पारेका छन् ।
संसद बैठक शुरु हुनासाथ मधेसी मोर्चाका तर्फबाट सबैभन्दा पहिले सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले लामै भाषण गर्दै सभामुखको कार्यशैली र रुलिङप्रति आपत्ति जनाएका थिए ।
उनले आफूहरुको विरोधबीच संविधान संशोधन बिधेयक अघि बढाउने सभामुखको भूमिका संसदीय लोकतन्त्र विपरित भन्दै पटक पटक सभामुखमाथि प्रहार गरे ।
तर, सभामुख घर्तीले पटक-पटक उनलाई बसौं माननीय, आफ्नो कुरा राख्नुस मात्र भनिन् । उनले लक्ष्मणलाल कर्णको प्रश्नको जवाफ भने दिइनन् ।
कर्णले संसद बैठक बहिस्कार गरेको घोषणा गरेर मधेसी मोर्चाका सांसदहरु बाहिरिएलगत्तै नेपाल मजदूर किसान पार्टीका सांसदहरु उठेर नियमापत्ति गरे ।
नेमकिपाका सांसद प्रेम सुवाललाई सभामुखले बोल्न समय दिइन् । उनले पनि सभामुखले आफ्नो प्रस्ताव अघि नबढाएको भन्दै आपत्ति जनाए ।
सभामुख घर्तीले यसमा मेरो ध्यानाकर्षण भयो भन्दै उनलाई बस्न आग्रह गरिन् । सुवाल बसेलगत्तै नेपाली जनता दलका सांसद हरिचरण साह उभिए ।
साहले नियमापत्ति भने पनि कुन नियमअनुसारको नियमापत्ति हो भनेर सभामुखले प्रश्न गरिन् । तर, साह आफ्नो संविधान संशोधन विधेयक कार्यसूचीमा नराखेको भन्दै सभामुखमाथि खनिए ।
उनलाई पटक-पटक सभामुखले बस्न आग्रह गरेपछि आफ्नो भनाइ राखेर बसे । त्यसलगत्तै डिम्पल झा लगायत साना मधेसवादी दलका सांसद पनि होहल्ला गर्दै उभिए ।
तर, उनीहरुलाई सभामुखले बोल्ने समय नदिई नियमित बैठक शुरु भएपछि ती सांसदहरु रोष्टम अगाडि आएर पलेटी कसेर बसे ।
केहीबेरको माथापच्चीसीपछि सभामुखले शून्य समय कार्यसूचीबाट हटाइन् । र, संसद बैठक वातावरण सम्बन्धी प्रतिवेदन र प्राधिकरण विधेयकमाथिको छलफलतर्फ प्रवेश गर्यो ।
No comments:
Post a Comment