Wednesday, December 16, 2015

योग म्याराथनबाट विश्‍व रेकर्ड राख्दै उत्तम

काठमाडौं: तीसवर्षे नेपाली युवा उत्तम मोक्तानले सबैभन्दा लामो समय योगासन गरी विश्व कीर्तिमान कायम गर्ने भएका छन्। वाल्मीकि विद्यापीठमा बिहीबार ११ बजेदेखि विविध योगासन सुरु गर्ने उनले भारतीय नागरिक योगराज सीपीले हङकङमा निरन्तर ४० घन्टा १५ मिनेट गरेको योग म्याराथनको विश्व कीर्तिमान तोड्नेछन्। आठ महिनाअघि राखिएको उक्त कीर्तिमान तोड्न उनले कम्तीमा ४५ र बढीमा ५० घन्टा योगासन गर्नेछन्। वाल्मीकि विद्यापीठको योग विभागको सहयोगमा विश्व दर्शन अभियान नेपालले कीर्तिमान राख्नका लागि पहल गर्नेछ।काभ्रे फोक्सिङटार ३ का मोक्तानले योग म्याराथनमा विश्व रेकर्ड कायम गर्न लागेको बताए। उनले बुधबार अन्नपूर्णसँग भने, 'योगबाट विश्वभर पाँचवटा विश्व कीर्तिमान कायम भएको भेटें। महिलातर्फ जर्मनीकी महिलाले ३२ घन्टे योग म्याराथन गरेकी रहिछन्। पुरुषतर्फ सीपीले ४० घन्टा गरेकाले मैले कम्तीमा ४५ र बढीमा ५० घन्टासम्मको योग म्याराथन गर्नेछु।' आठ वर्षअघि डा. योगी विकासानन्दको मनोक्रान्तिबाट योग साधनाका क्षेत्रमा प्रवेश गरेका उनले झापा र मोरङका भुटानी शरणार्थी शिविरमा साढे तीन वर्ष योग प्रशिक्षण सञ्चालन गरेका थिए। त्यसपछि उनी २०६९ सालमा भारतको बैङ्लोरस्थित विवेकानन्द योग विश्वविद्यालयबाट योगमा बिएस्सी गरेर केही महिनाअघि नेपाल फर्किएका थिए। उनका अनुसार केही सातादेखि निरन्तर आठदेखि १० घन्टाको योगासन गरिरहेका छन्।मोक्तानले भने, 'विश्वमा दुई सयदेखि तीन सय योगासन चलेका छन्। तिनलाई विविधता दिएर सामान्य आसन, कडा खालका आसन, अगाडि र पछाडि झुकेर गर्ने आसन, बटारिएर र मोडिएर गर्ने आसन, उठेर, बसेर र सुतेर (उत्तानो र घोप्टो) गर्ने आसन गर्नेछु।' गिनिज वर्ल्ड रेकर्डसको नियमअनुसार प्रत्येक एक घन्टामा पाँच मिनेट खान, पिउन र आराम गर्न समय पाइन्छ। विद्यापीठमा भिडियो र फोटो खिच्नेलगायतको तयारी भइसकेको छ। योग विभागका पूर्वप्रमुख डा. हरिप्रसाद पोखरेल मानसाग्नीका अनुसार यो योग म्याराथनले नेपालबाट योगको क्षेत्रमा पहिलो विश्व कीर्तिमान कायम गर्नेछ। अमेरिका र अस्ट्रेलियामा रहेका मोक्तानकै विद्यार्थी नेपाली भाषी भुटानी समुदायले ४५ देखि ५० घन्टा गर्न लागेको अभ्यासका लागि आर्थिक सहयोग गरेको जानकारी दिँदै अभियानका नारायण भट्टराईले भने, 'योग म्याराथनले योगको भूमि नेपाल हो र योगका माध्यमबाट नेपाल विश्वमा चिनिन सक्छ भन्ने पुष्टि हुनेछ।'

No comments:

Post a Comment