Friday, November 20, 2015
'नाकाबन्दी लामो होला भनेर सोचेनौं'
काठमाडौं: स्वास्थ्य मन्त्रालयले लामो समयसम्म नाकाबन्दी होला भनेर नसोचेकै कारण अत्यावश्यक औषधि सर्वसुलभ हुन नसकेको स्वीकारेको छ।
भूकम्पपीडितका लागि आएका एक करोड रुपैयाँको औषधि अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको, नेपाल-भारत सीमा नाकामा करिब तीन सय ट्रक औषधि त्यसै रहेको र एक सय ५० ट्रक औषधि निर्माणसम्बन्धी अत्यावश्यक सामग्री असुरक्षाका कारण वितरण हुन नसकेकाले मुलुकभर औषधि अपुग भएको तथ्यांक मन्त्रालयले प्रस्तुत गरेको छ।
व्यवस्थापिका संसद्अन्तर्गत महिला, बालबालिका तथा समाजकल्याण समितिले भारतीय नाकाबन्दीका कारण मुलुकभर रहेको औषधि अभावका सम्बन्धमा जानकारी लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी, सचिव शान्तबहादुर श्रेष्ठलगायतका अधिकारीहरूलाई बोलाएको थियो।
समितिमा उपस्थित मन्त्री चौधरीले नेपाल-भारत सिमानामा रहेका तीन सय ट्रकमध्ये अधिकांश औषधि निजी क्षेत्रको रहेकाले रिरुट गर्न अप्ठ्यारो परेको बताए । ती औषधि केही दिनमै ल्याइने जानकारी उनले दिए।
त्रिभुवन विमानस्थलमा रोकिएका औषधि केही दिनमै अस्पतालमा पुग्ने भनाइ उनको थियो।सरकारी अस्पतालको गोदाममा र निजी अस्पताल वरिपरिका पसलमा औषधि पर्याप्त गराउने योजनाअनुसार मन्त्रालयले काम गरिरहेको जानकारी सचिव श्रेष्ठले दिए। उनले भने, 'सत्य यही हो कि नाकाबन्दी यति लामो जाला भनेर हामीले सोच्नै सकेनौं।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment