Saturday, November 14, 2015
राजधानीमा भोलि बिहानबाट दाउरा बिक्री सुरु, एक किलोको १५ रुपैयाँ
कार्तिक २८, २०७२- वन मन्त्रालयले आइतबार बिहान ८ बजेदेखि सर्वसाधारणलाई दाउरा बिक्री गर्ने भएको छ । ‘आइतबार बिहानैदेखि बालकुमारी र गौशालाबाट दाउरा बेच्न थाल्छौं,' वन मन्त्रालयका प्रवक्ता सह-सचिव कृष्णप्रसाद आचार्यले कान्तिपुरलाई भने, ‘एक किलोको १५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।’
एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउनेछन् ।
शुक्रबारबाट नै सर्वसाधारणलाई दाउरा बिक्री गर्ने तयारी भए पनि कर्मचारी अभाव र भाईटीका परेकाले आइतबारदेखि बालकुमारी र गौशालामा रहेको टिसिएनको आफ्नै डिपोबाट बिक्री सुरु गर्न लागिएको हो ।
ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको अभाव खेपिरहेका सर्वसाधारणलाई बाँड्ने १० ट्रक दाउरा काठमाडौं भित्रिएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले तिहारकै बीचमा बाराका विभिन्न वनबाट १० ट्रक दाउरा काठमाडौं भित्र्याइएको हो ।
भारतको नाकाबन्दीपछि उपत्यकासहित देशभरका सर्वसाधारण इन्धन अभावको मारमा परेपछि वनमन्त्री सापकोटाले गत मंगलबार सर्वसाधारणलाई दाउरा बाँड्ने निर्णय गरेका थिए ।
पहिलो चरणमा तीन सय चट्टा (करिब सवा दुई सय ट्रक) दाउरा काठमाडौं ल्याउने व्यवस्था मिलाउन मन्त्री सापकोटाले निर्देशन दिएका थिए । टिसिएनका महाप्रवन्धक वीरेन्द्र यादबका अनुसार थप दाउरा नवलपरासीबाट ल्याइनेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment