Sunday, November 29, 2015

नाकाबन्दी खुलाउन भारतसँग कूटनीतिक वार्ता : अर्थमन्त्री

रामपुर (पाल्पा) : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाकाबन्दीको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग आन्तरिक रुपमा वार्ता भइरहेकाले छिट्टै समस्या समाधान हुने बताएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा जाने पहिराको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री पौडेलले भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा देखापरेको समस्या हटाउन भारतसँग कूटनीतिक वार्ता भइरहेको जानकारी पनि दिए । सिद्धबाबामा सुरुङमार्ग बनाइने सोही अवसरमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सिद्धबाबा क्षेत्रमा केही वर्षयता भएका दुर्घटना र पहिराका कारण ९५० जनाले ज्यान गुमाइसकेको बताउँदै दीर्घकालीन समस्या समाधान गर्नका लागि यस क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले विस्तृत अध्ययन अगाडि बढाएको बताए । मन्त्री पाण्डेयका अनुसार अल्पकालीन समस्या समाधानका लागि पहिरोग्रस्त क्षेत्रमा अस्ट्रियाको युटर्मर कम्पनीले नेटिङ प्रविधि अघि बढाएको छ । पश्चिमाञ्चल क्षेत्रका अधिकाश जिल्ला जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा बर्सेनि पहिरो खसेर ठूलो धनजनको क्षति हुँदै आएको छ । यस क्षेत्रमा वैकल्पिक सडक बनाउन विगतका सरकारले प्रयास गरे तापनि कार्यान्वयन नहुँदा यस क्षेत्रका जनताले मानवीय तथा भौतिक क्षति व्यहोर्दै आएका छन् । यस वर्ष सरकारको नीति तथा कार्यक्रममा सिद्धबाबा क्षेत्रमा सुरङमार्ग बारेमा सम्बोधन भइसकेको छ । रासस

No comments:

Post a Comment