Sunday, November 29, 2015

जोगवनी नाकाबाट आयात सहज हुँदै

विराटनगर–जोगवनी नाकाबाट हुने आयातमा भारतीय पक्षले गर्दै आएको अबरोध खुकुलो पारेको छ। जोगवनी नाकामा हाल कुनै अबरोध नभएको र आयात नियमित भइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानका अनुसार एक साता यता नाकामा भारतीय पक्षले इन्धन र अन्य मालबाहक सवारीको आवागमनमा अबरोध गरेको छैन। नाका खुकुलो भएसँगै आयात पनि सहज भएको छ। नाकाबाट विना अबरोध मालबाहकसवारी आउन थालेको ढुङ्गेलले जानकारी दिए। उनले भने, 'अवरोध नभएकाले आयात नियमित भइसकेको छ।' इन्धन आयातमा पनि भारतीय पक्षबाट हुँदै आएको अबरोध हटेको छ। तेल लिएर आएका ट्याङकरलाई नाकामा कष्टमले जाँचपास नदिने, जाँचपास भएका ट्याङकरहरूलाई पनि प्रहरीले लाइन लगाउने निहुमा अबरोध गर्ने जस्ता समस्या पनि हटेको छ। शुक्रबार जोगवनी नाकाबाट ६९ ट्याङकर इन्धन भित्रिएको थियो। जसमा २३ बुलेट ग्यास भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। जोगवनी नाकाबाट नाकाबन्दी यताकै ठूलो परिमाणमा शुक्रबार ग्यास भित्रिएको हो। शुक्रबार भित्रिएको ग्यास ५७ हजार परिवारलाई बितरण गर्न पुग्छ । एक बुलेट ग्यासमा सामान्य अवस्थामा १ हजार २ सय ५० सिलिण्डर ग्यास हुन्छ। इन्धन संकटको कारण देखाउँदै यतिवेला सरकारले आधा सिलिण्डर मात्रै ग्यास दिन थालेको छ। अहिलेको बितरण प्रणाली अनुसार २३ बुलेट ग्या"सले ५७ हजार ५०० वटा सिलिण्डर निस्कन्छ। शुक्रबार १४ ट्याङ्कर पेट्रोल र ३२ ट्याङकर डिजेल पनि भित्रिएको थियो । शनिबार पनि जोगवनी नाकाबाट १५ ट्याङकर डिजेल र ५ ट्याङकर पेट्रोल भित्रिएको छ। आइतबार दिउँसो सम्ममा इन्धनका ट्याङकर नआए पनि अन्य मालबाहक सवारी आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment