Thursday, May 14, 2015

प्रधानमन्त्री आएनन्, टहरा र मकैबाली हेलिकोप्टरले उडायो

१ जेठ, रामेछाप । देशको प्रधानमन्त्रीलाई पहिलो पटक आफ्नै गाउँमा भेट्न पाउने र बिपत्तिको बेला राहत समेत मिल्ने आशमा रामेछापको उत्तरी दुर्गम गाउँ दुरागाउँ गाविसका जनता विहीवार त्रिपुरेश्वर उच्च मावि भवनमा जम्मा भएका थिए । मूलखर्क, फेदी जस्ता विकट टोलबाट दुई घण्टासम्मको पैदल हिडेर उनीहरु प्रधानमन्त्रीलाई हेर्न आएका थिए । अपरान्ह एउटा हेलिकोप्टर आएपछि प्रधानमन्त्री नै आए भनेर सबै झुम्मिए । तर त्यो हेलिकोप्टर जमिनमा ल्याण्ड नगरी सैनिक ब्यारेकका लागि केही सामान माथिबाटै झारेर फर्कियो । हेलिकोप्टरले उल्टै उच्च मावि भवनको जस्ताको छाना उडाएर फाल्यो । स्थानीय लोकवहादुर गुरुङको लहलह भएको मकैबाली नष्ट पारिदियो भने ज्ञानबहादुर गुरुङ लगायतको अस्थायी टहराहरु उडाइदियो । हेलिकोप्टरमा भारतीय सेना देखिएको स्थानीय उद्धब पौडेलले बताए । हेलिकोप्टरको हावा र आवाजले उपस्वास्थ्य चौकी समेत उडाएको छ । भूकम्पले भवन भत्काएपछि अहेव विरेन्द्र मिश्रले पालमुनि स्वास्थ्य शिविर चलाइरहेका थिए । गाउँलेलाई अघिल्लै दिन प्रधानमन्त्री आउने जानकारी गराइएको थियो । रामेछापमा मानवीय र भौतिक क्षति सबैभन्दा बढी भएका कारण दुरागाउँलाई संवेदनशील गाविसमा राखिएको छ । मोटरबाटोको पहुँच समेत नभएकाले हेलिकोप्टरबाट प्रधानमन्त्रीले राहत सामाग्री ल्याउने आशामा जम्मा भएकाहरु साँझ निराश भएर आ-आफ्ना घर लागेका थिए । प्रधानमन्त्री कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार सदरमुकाम मन्थलीबाटै फर्किए । ‘सदरमुकाममा बसेर गाउँको पीडा कसले बुझ्छ ? कम्तिमा गाउँमै आएर हेरेको भए देशका नेताले बुझ्ने थिए,’ गुरुङले भने ।

No comments:

Post a Comment