Sunday, May 17, 2015

भूकम्प प्रभावित क्षेत्रमा घण्टैपिच्छे १२ शिशु जन्मिन्छन्

३ जेठ, काठमाडौं । भूकम्पबाट तहसतहस भएका नेपालका ग्रामिण बस्तिमा प्रत्येक घण्टामा १२ शिशु कुनै आधारभूत मातृशिशु सुविधा बिना नै जन्मिरहेको तथ्यांक सार्वजनिक भएको छ । युनिसेफका अनुसार सामान्य स्वास्थ्य तथा मातृशिशु स्याहारको सुविधा नभएका भूकम्प प्रभावित गाउँहरुमा जन्मिएका त्यस्ता नवजात शिशुहरुको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्नेछ । बालबालिका सम्बन्धी संस्थाहरुले अर्को महिनासम्म १८ हजार शिशु र सुत्केरीहरु खतरामा पर्ने चेतावनी समेत दिएको युनिसेफले जनाएको छ । उनीहरुले त्यस्ता ठाएँमा तत्काल स्वास्थ्य सेवा सुचारु गर्न सुझाव दिएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका कम्तिमा ७० ओटा बर्थिङ सेन्टरहरु भूकम्पको धक्काबाट ध्वस्त भएको र कतिपय ठाउँमा ९० प्रतिशत केन्द्रहरु भत्किएको युनिसेफले जनाएको छ । युनिसेफका अनुसार ठूलो संख्यामा गर्भवती महिलाहरु कठिन अवस्थामा रहेको र उनीहरुलाई आधारभूत स्वास्थ्यसेवा र हेरचाहको जरुरी रहेको छ । युनिसेफाका नेपालस्थित प्रतिनिधि टोमू होजुमीले भनेका छन्-‘नवजात शिशुका लागि जन्मिएको पहिलो दिन सबैभन्दा खतरापूर्ण र कष्ठप्रद हुन्छ, हामी शिशु र आमाको स्वास्थ्यप्रति गम्भीर भएका छौं ।’ युनिसेफले आफ्ना सहयोगी संस्थाहरुसँग मिलेर नवजाश शिशु र सुत्केरीको लागि काम गर्ने प्रयास गरिरहेको जनाएको छ । भूकम्प प्रभावित ती ठाउँहरुमा अत्यावश्यक औषधी र सामाग्री सहित टेन्ट गाडेर अस्थायी प्रसुती गृह सन्चालत गरिएको छ । जस अन्तर्गत सुत्केरीलाई राख्नका लागि २२ ओटा सेल्टर होम राखिएको छ । युनिसेफको अभियान पहिलो चरणमा गोरखा र सिन्धुपाल्चोकमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment