Tuesday, May 19, 2015
जसलाई जीवितै निकालियो
दोलखा (सिंगटी), जेष्ठ ४ -
महाभूकम्पपछि गत मंगलबार आएको अर्को शक्तिशाली भूकम्पमा परी दोलखामा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। पहिरोमा पुरिएकाको अझै उद्धार हुन सकेको छैन। सिंगटी बसपार्कको पाँच तल्ले पक्की घरमा पुरिएका व्यक्तिलाई निकाल्न सकिएको छैन। भूकम्पको धक्काले सिंगटीकै बासिन्दा भने दुई जनाको मृत्यु भएको छ। भूकम्पबाट घर भत्किएपछि किनमेल गर्न आएका, सरकारी राहत लिएर फर्कंदै गरेका र सदरमुकाम चरिकोट फर्कन बसको पर्खाइमा बसेका सर्वसाधारण धेरै पुरिए। पुरिएका व्यक्तिका आफन्तले स्थानीय प्रहरी र सेनालाई चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। सेनासँग पर्याप्त जनशक्ति छ तर निकाल्ने साधन (डोजर) छैन। भूकम्पको धक्काले ढुंगामाटोले बनाइएको घर सबै भत्कियो। मंगलबार मध्याह्न भूकम्प गएपछि स्थानीय बोधराज श्रेष्ठ र बिबिचन महतो पनि पुरिए। पुरिएपछि उनीहरूलाई कसरी जीवितै निकाल्न सकियो उनीहरूकै शब्दमा–
पुनर्जन्म पाएँ
- बोधराज श्रेष्ठ
म कुसुले तामाङको तीन तल्ले घरको भुइँतला भाडा लिएर पसल गर्दै आएको थिएँ। मंगलबार भूकम्प जाँदा पसलमै थिएँ। पहिलो र दोस्रो धक्काले सामान्य चर्केपछि बजारमा पुन: चहलपहल सुरु भएको थियो। मैले पनि पसल खोलें। एक्कासि ठूलो धक्का दिएर भूकम्प आयो। सबै दौडन थाले। म पनि पसलभित्रबाट निस्कन खोज्दा घर ढल्यो। धेरै हल्लायो। बाहिर निस्कँदा माथिबाट आएको ढुंगाले लाग्ला भन्ने डर लाग्यो। अनि भित्रै बिममुनि बसें। घर अघिल्लो भागतिर भत्कियो। बिम पनि ढल्यो। म पनि ढलें। ढोका छेउको सोकेसले मेरो ढाड थिच्यो। दोस्रो तल्लाको काठले मेरो ढाडमा थिच्यो। ढुंगाले पनि थिच्यो। टाउकोमा चाहिँ थिचेको थिएन। घाँटीदेखि तलको भाग पूरै च्यापिएको थियो। निस्कनै सकिनँ । सबै जना दौडिरहेका थिए। माइला भाइ दिल पक्की घरको पसलमा थियो। उसले मलाई खोज्दै आयो। टाउको मात्रै देखेपछि मलाई तान्न खोज्यो। सकेन। अगाडि बाटोमा दुई जना दौडिरहेका थिए। उनीहरूलाई बोलाउँदा आएनन्। अनि भाइले समाएर ल्यायो। घर माथितिर भीर खसिरहेकाले यहाँ कोही आउनै मान्दैनथ्यो। भाइ र ती दुई जनाले मलाई थिचेको ढुंगा हटाए। भाइले बिम सारेपछि म निस्किएँ।
उद्धारमा ढिलाइ भएको भए के हुन्थ्यो, अनुमान गर्नै सक्दिनँ। भाइले मलाई पुनर्जन्म दिए।
कोट्याएर निस्किएँ
- बिबिचन महतो
जन्मथलो रौतहट छाडेर १४ वर्षदेखि सिंगटीमा व्यापार गर्दै आइरहेको थिएँ। भाडामा बस्नुभन्दा आफ्नै घर हुँदा बेस भनेर जुन घरमा पसल गर्थें, त्यही घर किनें। लगानी बढाएँ। पहिलो र दोस्रो भूकम्प जाँदा चर्किए पनि सामान निकालेको थिइनँ। बजार पसल अरू बेला जस्तै सबै खुल्न थालेपछि मैले पनि खोलें। भूकम्प जाँदा ग्राहक थिए। पैसा फिर्ता दिन खोज्दै थिएँ। भूकम्प गयो। ती ग्राहक भाग्न भ्याए। मचाहिँ पैसा दिन खोज्दा अलमलिएँ। मेरो पसलका काम दार सिजभ महतोचाहिँ ढोकामा च्यापिएछन्। घर अगाडि सडकतिर भत्किएपछि म भित्रै बिममा अडेस लगाएर बसें। माथिल्लो तल्लाले थिच्दासम्म केही भएको थिएन। जब सँगैको मिङमार शेर्पाको घर मेरै घरतिर ढलेपछि अब मरियो भन्ने लाग्यो। सडकमा रुवाबासी र भागदौड भएको सुनिन्थ्यो। कोलाहल नै थियो। पुरिएपछि माथितिर हेरें, केही देखिनँ। कतै चोट लाग्यो कि भनेर छामें। केही नभएपछि आफैं बढें। टाउकोको माथिल्लो भागमा हातले कोट्याउन थालें। धेरैबेरपछि उज्यालो प्रकाश छिर्ने सानो प्वाल बनाए। अनि मैले बोलेको बाहिर सुन्ने भयो। उद्धार गरिरहेकालाई मलाई केही भएको छैन। चोट पनि लागेको छैन। बाहिर च्यापिएकालाई पहिला निकाल्नु, अनि मलाई निकाल्दा हुन्छ भनें। उद्धार टोलीले मलाई दुई घण्टापछि सकुशल निकाल्यो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment