Monday, May 18, 2015
कैदीले आममाफी नपाउने
काठमाडौं-भूकम्पबाट जिर्ण भएका कारागारमा रहेका कैदीलाई माफि दिन केही अन्तराष्ट्रिय समुदाय र कैदीका परिवार निरन्तर दवावमा छन् । केही विदेशी प्रतिनिधिले गृह मन्त्रालयका अधिकारीलाई भेटेरै यस्तो विपद्को बेलामा जेलमा रहेकाहरुलाई आममाफी दिने गरेको भन्दै जोखिमपूर्ण कारागारमा रहेकालाई माफि दिन सुझाए । गृह मन्त्रालयका अधिकारीहरु जेलमा रहेकाहरुको ज्यानको सुरक्षाका नाममा आममाफी नदिने निष्कर्षमा पुगेका छन् ।
‘विपद्को अवस्था भए पनि अदालतबाट अपराध प्रमाणित भएकाहरुलाई आममाफि दिन सकिँदैन’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले नागरिकन्युजसँग भने ‘भूकम्पका कारण समस्यामा परेका कारागारहरुलाई आफ्नो साधनस्रोतको उपयोग गरी कैदीबन्दीलाई सुरक्षित राख्न निर्देशन दिइएको छ, अन्य विकल्पबारे छलफल जारी छ । ’
कारागार व्यवस्था विभागका अनुसार ७४ कारागारमा करिव १५ हजार कैदीबन्दी छन् । काठमाडौं उपत्यका भित्रका डिल्लीबजार कारागार होस् या नक्खु,मुलुकभरका ४० कारागारमा रहेका करिव ४ हजार कैदी जोखिमपूर्ण परिसर र भवनमा बस्दै आएका छन् । पुराना भवनलाई भूकम्प र त्यसका पराकम्पनको धक्काले जोखिमपूर्ण बनाएपछि त्यहाँ बस्ने हिम्मत जुटाउन सकेका छैनन् उनीहरुले ।
विभागका अनुसार भूकम्पका कारण काठमाडौं उपत्यकाको केन्द्रीय कारागार, डिल्लीबजार र नक्खु कारागार सहित ४० जिल्लाका कारागार भवनमा क्षती पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको कारागार भवन भत्कियो भने रसुवा, ताप्लेजुंग, रौतहट, महोत्तरी, गोरखा, लम्जुगं, काभ्रे, दोलखा लगायतका जिल्लाका कारागार भवनमा भूकम्पको धक्काबाट क्षती पुगेको छ ।
केन्द्रीय कारागारमा सबैभन्दा धेरै २ हजार ५ सय कैदी बन्दी छन् । बैशाख १२ गते आएको भूकम्पबाट कारागारभित्रको भवन भत्किदा १६ जना कैदी मारिएका थिए । भूकम्पले कारागारको सुरक्षाका लागी बनाएको पर्खाल समेत भत्काएपछि कारागार सुरक्षा समेत जोखिमपूर्ण बनेको छ । केन्द्रीय कारागारमा चाल्स शोभराज लगायतका गम्भिर अपराधमा संलग्न रहेका कैदीबन्दी छन् ।
प्रारम्भमा जेल प्रशासनले कैदी बन्दीलाई पालमा राखेको थियो । भूकम्पको पराकम्पन घट्दै गएपछि जेल प्रशासनले जोखिम कम रहेको भवनमा राख्न थालेको थियो । २९ गतेको पराकम्पनपछि कैदी बन्दी भवनभित्र बस्न मानेका छैनन् ।
केन्द्रीय कारागारका जेलर बेदबहादुर कार्कीले अहिले चौरमा रहेको खुल्लास्थानमा कैदीबन्दी राखेको बताए । पर्खाल भत्किएको र पुराना भवनहरु चर्किएर जोखिम बढेको बताउँदै उनले भने बन्दीलाई समस्या छ, अहिले पालमा राखेका छौं ।
पुरानो भवनमा रहेको डिल्लीबजार कारागारको अवस्था पनि उस्तै छ । कारागारको सुरक्षाका लागी बनाइएको पर्खाल भत्किएको छ । भवन चर्किएर जोखिमपूर्ण बनेपछि कैदीबन्दीलाई खुल्ला स्थानमा राखिएको छ । पहिलो भूकम्पको धक्का मत्थरहुँदै गएपछि कारागार प्रशासनले कैदी बन्दीले नमानेपनि उनीहरुलाई भवनभित्र राखेको थियो ।
जोखिमपूर्ण भवनमा राखेको भन्दै कैदी बन्दीले जेल प्रशासनसँग गुनासो गरेपछि केहीलाई पालमा राखिएको थियो । शक्तिशाली पराकम्पनपछि अधिकांश कैदी बन्दी टेन्टमै छन् । त्यहाँ ३ सय भन्दा बढी कैदी बन्दी छन् । पुरानो भवनमा रहेको सो कारागारमा खुल्ला स्थान समेत न्युन छ ।
नक्खु कारागारको पर्खाल भत्किए भने भवन क्र्याक भएका छन् । जेल प्रशासन बस्ने भवन समेत बस्न अयोग्य भएको छ । जेल प्रशासनले त्यहाँका कैदीबन्दीलाई भवनमा राख्ने प्रयास गरिए पनि उनीहरुले नमानेपछि अहिले पालमा राखिएको छ । नक्खुमा जाली भारतीय रुपैंया कारोवारको अभियोगमा जेल सजाय काटिरहेका युनुस अन्सारी, न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिएका बाबु थापा लगायतका ६ सय २३ कैदी बन्दी छन् ।
नक्खुका जेलर चक्रपाणी गौतमले भुकम्पका कारण २ जना घाइते भएका थिए । मानवीय क्षती कम भए पनि भौतिक संरचना जोखिमपूर्ण रहेकाले कारागार परिसरभित्रको खुल्ला स्थानमा कैदीबन्दीलाई राखिएको बताए ।
सिन्धुपाल्चोकको कारागार पुरै भत्किदा २ सय १६ कैदी फरार भए । काभ्रेमा १ सय ८१ कैदीबन्दी छन् । रसुवामा ९७, ताप्लेजुंगमा ८८, रौतहट १२९, महोत्तरीमा ३९८, गोरखा ११८, लम्जुग ७७ र दोलखामा ७१ जना कैदी बन्दी छन् ।
विभागका प्रमुख हिमनाथ दवाडी तत्कालका लागी कारागारभित्रको सुरक्षित स्थानको उपयोग गरिए पनि बस्नै नसक्ने जोखिमपूर्ण कारागारको विकल्पबारे कुनै निष्कर्ष निकालिएको छैन । जोखिममा रहेको कारागारका कैदी बन्दीलाई तत्कालै अन्यत्र लैजान नसकिने बताउँदै उनले नुवाकोटमा रहेको केन्द्रीय कारागारका लागी किनिएको जग्गामा ४ हजार कैदीबन्दी अटाउने अस्थाई संरचना बनाउने विषय छलफल भइरहेको बताए ।
‘जोखिम त छ तर, विकल्प नभएकाले उनीहरुलाई अन्यत्र राख्न सकिने अवस्था छैन ’ कारागार व्यवस्था विभागका प्रमुख हिमनाथ दवाडीले भने ‘ अस्थायी टेस बनाउने कि अन्यत्र लैजाने विकल्प खोजीरहेका छौं ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment