Sunday, May 17, 2015

केही भएन १६० वर्ष पुरानो घरलाई

भक्तपुर—गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजारौं घर ध्वस्त बनायो। तर भक्तपुर दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ।भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर भने यथावत रहँदा यो घर अहिले चर्चाको विषय बनेको छ। हरेक दिन कैयौं मानिस यही घर हेर्न आइपुग्छन्। सँगैका घर भत्किएपछि दत्तात्रयको नमुना घर के भयो भनेर चासो दिँदै हेर्न आउनेहरुको अझै कमी भएको छैन। जीर्ण बनेपछि मानिस बस्न छाडेर कुखुराको खोर बनाएको यो घरलाई १७ वर्षअघि सम्पदा संरक्षणमा जुटेका रवीन्द्र पुरीले सात लाख रुपैयाँमा खरिद गरेका थिए। त्यसपछि १५ लाख रुपैयाँ लगाएर जीर्णोद्धार गरेपछि नमुना घर नाम दिइएको यो घर सन् २००४ मा युनेस्को अवार्ड पाएको थियो। यही घरमा बस्दै आएका पुरीलाई अहिले दैनिक सयौं मानिसले एउटै प्रश्न गर्छन्– 'भूकम्पले यतिका घर ढले तर यो पुरानो नमुना घर कसरी जिउँदै छ?, पुरी भन्छन्, 'बिहानदेखि साँझसम्म यो घर हेर्न आउने धेरै छन्, घर हेर्न आउँनेदेखि बाटोमा भेट्नेहरुले समेत नमुना घर कसरी जिउँदै भो भनेर प्रश्न गर्छन्।' भक्तपुरका अधिकांश घर बेलाबेलामा मर्मत नगर्दा भूकम्पको धक्काले भत्किएको उनी बताउँछन्। नमुना घरको उदाहरण दिँदै पुरी भन्नुहुन्छ, 'हामी एकपटक घर बनाएर बस्छौं तर घरको कुन भाग कमजोर भएको छ, के मर्मत गर्नुपर्छ, घरलाई कसरी सधैँ बलियो बनाइरहने भन्ने चासो कसैको हुँदैन त्यसैले पनि भूकम्पमा धेरै घर भत्कायो।' झिँगटीको छानो भएको यो घरमा अधिकांश काठको प्रयोग भएको छ। सिमेन्टको पिलर र बिम नभएको यो घर पुरानो परम्परागत शैलीमै बनेको घर हो। 'यो घरको जग पुरानै हो, घरमा कुनै फेरबदल गरेको छैन, बिग्रिएका इँटा, काठ निकालेर नयाँ राख्दै जीर्णोद्धार गरिएको हो, नयाँ बनाएको होइन, घरको मर्मतमा ध्यान दिएकाले वैशाख १२ गतेदेखि आएको भूकम्प र पराकम्पनले यो घरलाई कुनै असर गरेन।' नमुना घरको जीर्णोद्धार गर्दा परम्परागत रुपमा काठको चुकुल बिमको प्रयोग गरिएको उनले बताए। त्यसको साथै आधुनिक टाई बिमकोसमेत प्रयोग गरेकाले १६० वर्ष पुरानो घरलाई पनि भूकम्पले अलिकति क्षति पनि पुर्यामएन। नमुना घरमात्रै होइन परम्परागत शैलीमा बनाएका साँगाको नमुना बस्ती, पनौतीका ११ वटा घर, साँखुको मन्दिर, पाटीलगायत विभिन्न ठाउँमा परम्परागत शैलीमा बनाइएको घर, पाटी एवम् स्कुललाई समेत भूकम्पले कुनै असर नगरेको उनी बताउँछन्। रासस

No comments:

Post a Comment