Monday, May 18, 2015
अन्डाको मूल्य घट्यो
काठमाडौं-नेपाल अन्डा उत्पादक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य घटाएको छ । संघको शनिबार बसेको बैठकले अन्डाको मूल्य ४ रुपैयाँ घटाएर प्रतिगोटा ८ रुपैयाँ कायम गरेको हो ।
संघका अध्यक्ष शिवराम केसीले प्रतिगोटा १२ रुपैयाँ पर्ने अन्डाको मूल्य सोमबारबाट ८ रुपैयाँमा बिक्री वितरण गर्ने गरी मूल्य घटाएको हो । गत वर्षको तुलनामा उत्पादन १५ देखि २० प्रतिशत बढेको र भूकम्पपीडितले चाउचाउ र बिस्कुटको सट्टामा अन्डा खाँदा पोषण बढ्ने भएकाले मूल्य घटाइएको हो,’ उनले नागरिकसँग भने, ‘सबै कुरालाई मध्यनजर गरेर व्यवसायीले मूल्य घटाएका हुन् ।’
अध्यक्ष केसीको अनुसार स्थलमार्गबाट जाने सबै ठाउँमा प्रतिगोटा अन्डाको मूल्य ८ रुपैयाँ तोकिएको हो । त्यसबाहेक हवाईमार्गको प्रयोग हुने ठाउँमा लागतअनुसार मूल्य राख्ने उनको भनाइ छ । ‘व्यापारीले अप्रत्यक्ष रुपमा यसअघिनै मूल्य घटबढ भई अन्डा बिक्री भइरहेको थियो,’ उनले भने, ‘संघले आधिकारिक निर्णय गरेपछि देशभर सोही मूल्य निर्धारण हुन्छ ।’
संघले आइतबार विहानै देशभर भएका सबै डिपो तथा डिलरमा नयाँ मूल्य पठाइसकेको छ । सोमबारबाट कुनै पनि बहानामा अन्डाको मूल्य बढी लिएको थाहा पाइए कानुनअनुसार कारबाही हुने संघले जनाएको छ । ‘आइतबारसम्म पुरानै मूल्यमा अन्डा बिक्री गर्न पाइयो,’ उनले भने, ‘संघको आधिकारिक निर्णय आएपछि मूल्यमा तलमाथि गरेको थाहा पाए कारबाही हुन्छ ।’
संघले पनि नयाँ मूल्य अनुसार अन्डा किन्न र धेरै मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । ‘उपभोक्ता आफैं पनि सचेत हुन जरुरी छ,’ उनले भने, ‘केही व्यापारीले नयाँ मूल्यभन्दा पुरानैमा बेच्न पनि सक्छन् । त्यसतर्फ सचेत रहनुपर्छ ।’
संघका अनुसार हाल नेपालमा १ हजार ७ सय वटा अन्डा उत्पादक फर्मरहेका छन् । देशभर दैनिक ९ हजार पेटी अन्डा उत्पादन हुने गरेको संघको तथ्यांक रहेको छ । एक पेटीमा १ सय २० वटा अन्डा हुने संघले जनाएको छ । संघका अनुसार ७० प्रतिशत बजार चितवनले ओगटेको छ ।
केही दिनअघि कुखुरा मासुको मूल्य पनि २ सय १० रुपैयाँ कायम गरिएको थियो । उत्पादन अनुसार खपत नभएपछि व्यापारीले मूल्य घटाएका थिए । त्यसअघि कुखुरा मासु २ सय ७० रुपैयाँमा बिक्री भइरहेको थियो ।
सरकारले भूकम्प अति प्रभावित क्षेत्रमा कुखुराको मासु खान प्रतिबन्ध लगाएपछि व्यवसायीले मूल्य घटाएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment