Monday, May 18, 2015
उच्च जोखिममा हाउजिङको लगानी
काठमाडौं-महाभूकम्पका कारण बैंक, वित्तीय संस्थाहरुले हाउजिङमा गरेको लगानी उच्च जोखिममा परेको छ । वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनले अधिकांश हाउजिङमा क्षति पुर्याएपछि बैंकहरुको लगानी जोखिममा परेको हो। बैंक, वित्तीय संस्थाले गत फागुन मसान्तसम्ममा कुल १२ खर्ब ५० अर्ब विभिन्न क्षेत्रमा लगानी गरेका छन् । त्यसको करिब १४ प्रतिशत हाउजिङ तथा रियलस्टेट व्यवसायमा लगानी गरेको नेपाल राष्ट्र बैंंकको भनाइ छ । महाभूकम्पले अधिकांशमा क्षति पुर्याएपछि हाउजिङ खरिद–बिक्रीमा कमी आउने अनुमान राष्ट्र बैंकले गरेको छ ।
बैंकले गरेको लगानी तत्काल उठ्ने सम्भावना कम देखिएकाले समग्र व्यवसायमा नकारात्मक असर पर्ने बैंकरको अनुमान छ । हाउजिङमा गरेको ऋण लगानी बैंकका लागि टाउको दुखाइको विषय बनेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए ।
राष्ट्र बैंकका अनुसार जग्गा तथा व्यावसायिक भवन (अपार्टमेन्ट तथा सपिङ मल) मा बैंक, वित्तीय संस्थाले ५४ अर्ब रुपैयाँ र आवासीय घरमा १ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत फागुनसम्ममा यो क्षेत्रमा १ खर्ब ७० अर्ब रुपैयाँ लगानी भएको राष्ट्र बैंकको भनाइ छ । यो लगानीमा समस्या आउन सक्ने संकेत राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठ दिए ।
महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनले पुर्याएको क्षतिले घरजग्गा व्यवसायमा गरिएको ऋण असुलीमा समस्या उत्पन्न भई बैंक, वित्तीय संस्थाको खराब कर्जा बढ्ने अनुमान बैंकरको छ ।
विश्व आर्थिक मन्दीको प्रभाव र राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा गरेको कडाइले यो व्यवसाय प्रभावित हुन पुगेको थियो । १ वर्षयता यो व्यवसायमा सुधार आउने संकेत देखिएको थियो । यही बेला महाभूकम्पले क्षति पुर्याउँदा व्यवसाय चौपट हुने संकेत देखिएको व्यवसायी बताउँछन् ।
हाउजिङमा गएको बैंक ऋणमा अनिवार्य बिमा गरिएकाले बैंकलाई समस्या नहुने व्यवसायीको भनाइ छ । वैशाख १२ को महाभूकम्पले अधिकांश हाउजिङमा क्षति पुर्याएको छ ।
सहरी विकास विभागका इन्जिनियरले २२ वटा अपार्टमेन्टको स्थलगत अध्ययन गरी एउटामा बस्नै नमिल्ने, १५ वटामा मर्मतपछि मात्रै बस्न मिल्ने र ६ वटामा बस्न मिल्ने निष्कर्ष निकालेको थियो । अध्ययन सकिएलगत्तै वैशाख २९ गते आएको ६.८ रेक्टर स्केलको भूकम्पले हाउजिङमा पुनः क्षति पु¥याएको अनुमान छ । केही वर्षका लागि हाउजिङ व्यवसाय ठप्प हुने सम्भवना बढेको छ ।
राष्ट्र बैंकले १ करोडसम्मको घर कर्जालाई रियलस्टेटमा नराख्ने व्यवस्था गरेको थियो । उसले आवास प्रयोजनको घर कर्जाका लागि प्रोत्साहन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सुलभ ब्याजदरमा ऋण प्रभाह गर्दै आएका छन् । धेरैजसो बैंकहरुले सुरक्षित लगानी भन्दै साढे सातदेखि ९ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन् ।
सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार महाभूकम्पले करिब साढे तीन लाख घरमा क्षति पुगेको छ । महाभूकम्पपछि आएको शक्तिशाली पराकम्पनले पनि धेरै घरमा क्षति पुगेको अनुमान गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले भूकम्पबाट भएको क्षति विवरण संकलन गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले भूकम्पले असर गरेको ऋणीको नाम, ऋण रकम, कर्जा असुली गर्ने भुक्तानीको स्रोत, धितोको अवस्था र विवरण, धितोको तत्काल (ऋण दिँदाको बखत) को र हालको अनुमानित मूल्य समावेश गरी प्रतिवेदन बनाउन भनेको छ । बैंकहरुले यथार्थ विवरण बुझाउने तयारी गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment