Sunday, May 24, 2015

सात जिल्ला बाहेकका अति प्रभावित विद्यार्थीका लागि पुनः परीक्षा हुने

काठमाडौं- विनाशकारी महाभूकम्पका कारण अति प्रभावित विद्यार्थीका लागि उच्चमाध्यमिक शिक्षा परिषदले पुनःपरीक्षा गर्ने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा जेठ २० गते र कक्षा ११ को परीक्षा असार १ देखि तोकेर कार्यतालिका आएपछि भूकम्पका कारण अति प्रभावित विद्यार्थीले विरोध गरेका थिए । हाललाई भूकम्पबाट अतिप्रभावित ७ जिल्ला दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा र रामेछापमा परिस्थिति सामान्य नहुन्जेल परिषदका सबै परीक्षा स्थगित गरिएको हो । परिषदले अति प्रभावित ७ जिल्लासँगै अन्य जिल्लाका भूकम्पका कारण घरबारविहीन भएका, आमाबुवा गुमाएका, मानसिक रुपमा विक्षिप्त, आर्थिक रुपमा क्षति भएका, हातखुट्टा गुमाएका, घाइते भएका विद्यार्थीको पनि परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको परिषदका उपाध्यक्ष चैतन्य मिश्रले जनाए । उपाध्यक्ष मिश्रका अनुसार पीडित विद्यार्थीले जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिस, डाक्टरको सिफारिस र आफ्नो सम्बन्धित प्लस टुको सिफारिससहित निवेदन दिनुपर्छ । परिषदले कक्षा ११ को परीक्षा दिएर १२ मा जानेका लागि समेत अभिभावक गुमाएका घरबारविहीन अनाथ विद्यार्थीका लागि कक्षा १२ को शिक्षा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । उपाध्यक्ष मिश्रले भूकम्पबाट अति पीडित विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परिषदले भूकम्प प्रभावित ७ जिल्लासँगै पुनः परीक्षा सञ्चालन गर्ने तय गरेको जनाए । उनका अनुसार अति प्रभावित ७ जिल्लाबाहेक अन्य ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० देखि र कक्षा ११ को असार १ देखि सञ्चालन मिति तय गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ । परिषदले सबै प्लस टुका प्राचार्यलाई आफ्ना विद्यार्थीको पूर्ण विवरण राख्न निर्देशन दिएको छ । उपाध्यक्ष मिश्रका अनुसार परीक्षा केन्द्रहरु भुइँतल्ला र दोस्रो तल्लासम्म विद्यार्थीमैत्री निर्धारण गर्न प्राविधिकसहितको अनुगमन टोलीलाई निर्देशन दिइसकेको छ । उनका अनुसार परिषदले परीक्षा केन्द्रमा उद्धार टोली र डाक्टरसहितको स्वास्थ्य शिविरको समेत व्यवस्थापन गर्ने निर्णय गरेको छ । उच्चमाध्यमिक विद्यालय सञ्चालक संघ (हिसान)का महासचिव युवराज शर्माले घरबार, अभिभावक गुमाएका भूकम्प पीडित विद्यार्थीका लागि निःशुल्क भोजन र बासको व्यवस्था गर्न परीक्षा सञ्चालन हुनै सबै जिल्लाका सदस्यहरुलाई निर्देशन दिएको जनाए । परिषदको निर्देशन अनुसार हिसानले चौर, बास्केटबल कोर्ट तथा सुरक्षित भुइँतल्लामा परीक्षा केन्द्र पाल र टहरामा समेत बनाउने व्यवस्था मिलाएको छ । भूकम्पका कारण आर्थिक क्षति भएका विद्यार्थीलाई सबै प्लस टुले सबै शुल्क मिनाहा हुने गरी प्रवेशपत्र उपलब्ध गराउन हिसानले सबै प्लस टुलाई आइतबारै निर्देशन जारी गरिसकेको छ । उनका अनुसार एक परीक्षा केन्द्रमा ५ सयभन्दा बढी विद्यार्थी नराख्ने व्यवस्था गरिएको छ । परिषदले केन्द्राध्यक्ष र सुरक्षा गार्ड, प्राचार्य र परीक्षा निरीक्षकलाई समेत मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गरेको छ । परिषदका उपाध्यक्ष मिश्रले परिषदले परीक्षा सञ्चालन गरिने ६८ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका अन्य जिल्लामा दैवीप्रकोप उद्धार समितिसँग समन्वय गरी सोमबारसम्म परीक्षा केन्द्र तोकिने जनाए । उनले काठमाडौं उपत्यका, ललितपुर र भक्तपुरमा जिल्ला परीक्षा समन्वय समितिको सहकार्यमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, प्राविधिक र परिषद प्रतिनिधिको टोलीले अनुगमन गरी सुरक्षित केन्द्रमा मात्र परीक्षा केन्द्र तोक्ने कार्य अघि बढाएको दाबी गरे । उनले हाल कक्षा १२ को ४ लाख ४२ हजार ४ सय ५५ र कक्षा ११ को ४ लाख ५४ हजार ७ सय १५ गरी ८ लाख ९७ हजार १ सय ७० परीक्षार्थीले ९ सय २२ परीक्षा केन्द्रबाट परीक्षा दिने जनाए ।

No comments:

Post a Comment