Friday, May 15, 2015

सिन्दूरेडाँडामा दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर भेटियो

१ जेठ, काठमाडौं । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोककेा सीमाना घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको हो । कालिन्चोकको उत्तरपश्चिम घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए । यो ठाउँ सिन्धुपाल्चोक र दोलखाको सीमानामा पर्छ । घोर्थली बाह्रबिसेबाट माथि सिन्धुपाल्चोक जिल्लामा पर्छ भने दोलखाको बिगु गाविस जोडिएको छ । स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक घोर्थली क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको सैनिक स्रोतले जनाएको छ । कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली विहान त्यसतर्फ गएको थियो । ११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको हेलिकोप्टरका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment