Monday, May 18, 2015
जीवनले जलाए भूकम्पको पुत्ला
काठमाडौं– वैशाख १२को महाभूकम्प र त्यसयता आएका अनुकम्पनले सारा नेपाली त्रसित छन् । त्रासबाट मुक्तिकालागि मानिसहरुले कतै सप्ताह लगाउने त कतै पृथ्वीको पूजा गरिरहेका छन् । तर अभिनेता जीवन लुइँटेलले भने भूकम्पको पुत्ला जलाएर भूकम्पले उब्जाएको त्रास कम गर्ने प्रयत्न गरेका छन् ।
जीवनले काठमाडौंको कलंकीस्थित शिवनगरमा महिला विकास समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै भूकम्पको पुत्ला दहन गरेका हुन् । उनले झट्ट सुन्दा अन्धविश्वासी र असान्दर्भिक लागेपनि पुत्ला दहनपछि त्यहाँका बालबालिका र महिलामा सकारात्मक प्रभाव परेको बताए ।
‘महिला विकास समितिका सदस्यले भूकम्पका कारण महिला र बालबालिका साह्रै आत्तिएको र यसको त्रास गर्न केही गर्न पाए हुन्थ्यो भन्ने लागेर पुत्लादहन गर्ने प्रस्ताव गर्नुभयो। सकारात्मक प्रभाव पर्ला कि भन्ने लागेर मैले पनि सहभागिता जनाएको हुँ,’ जीवनले भने ।
उनले पुत्लादहनपछि त्यहाँका बासिन्दामा सकारात्मक प्रभाव परेको पनि सुनाए । ‘हुन त हामी सबैलाई थाहा छ,पुत्लादहन कर्मकाण्ड भन्दा केही होइन तर पनि कहिलेकाहीँ गर्नुपर्दोरहेछ । बालबालिका त्यो दिनदेखि अलि खुल्न थालेका छन्,’ जीवनले भने ।
भूकम्पको बेला अमेरिकामा रहेका जीवन त्यसलगत्तै नेपाल आएका थिए । नेपाल आएलगत्तै राहत वितरणमा सक्रिय जीवनले धादिङ, काभ्रे र काठमाडौंका भूकम्पपीडितलाई राहत बाँडेका थिए । जीवनकै पहलमा भारतको बालाजी टेलिफिल्मस्ले विभिन्न ठाउँमा राहत बाँडेको थियो ।
जीवनले काभ्रेको रामपुर डाँडामा नेपाली फिल्मकर्मीले सुरु गरेको घर बनाइदिने अभियानका लागि भनेर ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । ४० घर दलितबस्ती रहेको गाउँ भूकम्पले सोत्तर भएपछि फिल्मकर्मीले आफ्नै गोजीबाट पैसा निकालेर घर बनाउने अभियान थालेका छन् । जीवनले सोही अभियानमा प्रयोग गर्नेगरी नगद सहयोग गरेका थिए । फिल्मकर्मीले शनिबारसम्म २० घर बनाइसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment