Saturday, May 23, 2015

कालीगण्डकी थुनिएपछि नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

चितवन–म्याग्दीको बैसरीमा कालीगण्डकी थुनिएर ताल बनेपछि जतिखेर पनि फुटेर नारायणी नदीमा बाढी आउन सक्ने भन्दै यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। कालीगण्डकी नदी देवघाटको बेनीमा आई नारायणी नदीमा मिसिने गर्छ। बाढीका रुपमा आएको कालीगण्डकी नारायणीमा मिसिएपछि देवघाट क्षेत्रसहित चितवनका विभिन्न भूभागमा क्षति पुर्याउन सक्ने भएकाले यस क्षेत्रमा अहिले उच्च सतर्कता अपनाइएको हो। नारायणी नदीको तटीय क्षेत्रमा सर्वसाधारणलाई जानमा रोक लगाइएको छ। दैवी प्रकोप उद्धार समिति चितवनले नुहाउन ,लुगा धुन , घुमफिर र पौडी खेल्न,गाईवस्तु चराउन ,घाँस दाउरा काट्न ,माछा मार्न र डुंगा समेत नचलाउन सार्वजनिक अपिल गरेको छ। कालीगण्डकीको ताल फुटेर न्ाारायणीमा ठूलो बाढी आए देवघाट क्षेत्र विकास समिती आसपासका वस्ती ,भरतपुर उपमहानगरपालिका अन्तर्गत नारायणगढ क्षेत्रको वडा नम्बर २ र ३ ,मेघौलीको गोलाघाट क्षेत्र ,दिव्यनगर गाविसको ३ ,४ र ५ नम्बर वडा डुबानमा पर्ने उच्च सम्भावना रहने समितिका स्रोत व्यक्ति बलराम लुईटेलले बताए। उनले सो क्षेत्रका स्थानीयले नदीमा गर्ने दैनिक क्रियाकलाप एकदुईदिनका लागि बन्द गर्न समेत आग्रह गरेका छन्। नदीमा बाढी आइहाले कुनैपनि प्रकारको मानवीय क्षति हुन नदिन समितिले ठाउँमा ठाउँमा उद्धार टोली खटाएको छ। नारायणढ ,मेघौली,गुन्जनगर लगायतका क्षेत्रमा शसस्त्र ,जनपथ सहितको उद्धार टोली तैनाथ गरिएको समितिले जनाएको छ। पोहोर सेतीनदी थुनिएर बाढी आउँदा पनि यस क्षेत्र भएर बग्ने नारायणीको सतह ह्वात्तै बढेको थियो। नारायणी नदी काली गण्डकी,सेती,त्रिशुली सहितका विभिन्न नदी मिलेर बनेको देशकै ठूलो नदीमध्येको एक हो। नदी बढेर केही कतै घटना हुने संकेत वा भएमा टोल फ्रि नम्बर १६६० ५६२१००१ व्ाा प्रहरी कन्ट्रोलको १०० नम्बर र समितिको ०५६५३२८३२ फोन नम्बरमा खबर गर्न सर्वसाधारणलाई भनिएको छ।त्यस्तै गरी नवलपरासी क्षेत्रमा पर्ने नारायणी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न स्थानीय प्रशासनले अपिल गरेको छ। नारायणी किनारमा कुनै प्रकारको गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। विशेष गरी नारायणी किनारमा बसोबास गर्ने बोटे, माझी र मुसहर तथा थारु समुदायलाई सुरक्षित रहन भनिएको छ। नारायणीलाई जिविकोपार्जनको मुख्य बनाएका आदिवासी समूह नारायणीको बाढीको उच्च जोखिममा पर्छन।

No comments:

Post a Comment