Sunday, May 17, 2015
भूकम्प प्रभावित सशस्त्र प्रहरीका लागि ४० करोडको राहत प्याकेज घोषणा
२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलले भूकम्प पीडित आफ्ना कर्मचारीको पुनर्वासको लागि ४० करोड बढीको कल्याणकारी प्याकेज घोषणा गरेको छ ।
प्याकेजमा करिव ३० करोड रकम पछि फिर्ता गर्नु नपर्ने गरी पीडित सशस्त्र प्रहरी कर्मचारीलाई नगद वितरण गरिने छ । थप १० करोड रुपैयाँ भने विपती राहत कोष स्थापना गरी आगामी दिनमा विपत्तीमा पर्नसक्नेे सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गर्ने सशस्त्र प्रहरीको घोषणा छ ।
न्यूनतम ब्याजदरमा दामासाहीले साढे दुई लाखदेखि ६ लाख रुपैयाँसम्म ऋण, बीमा रकम तत्काल दिने, पीडित सशस्त्र प्रहरी कर्मचारीलाई दामासाहीले विना ब्याजमा एक महिनाको तलब बराबरको रकम सापटी दिइने भएको छ । साथै भूकम्पमा मृत्यु भएका कर्मचारीका एक सन्तानलाई वाषिर्क २४ हजारका दरले १२ कक्षासम्मको छात्रवृत्ति दिइने सशस्त्रले घोषणा गरेको छ ।
भूकम्प प्रतिरोधात्मक घर बनाउन सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने, घरपायक सरुवा, काज तथा लामो विदाको व्यवस्था गर्ने, उद्धार कार्यमा उत्कृष्ट योगदान पुर्याउने सशस्त्र प्रहरी कर्मचारीको योगदानको उच्च मूल्यांकन गरी पुरस्कृत गर्ने पनि प्याकेजमा उल्लेख छ ।
भूकम्पले क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई सहयोग पुर्याउन सशस्त्र प्रहरी बलले योजनालाई ‘हात बढाउ, साथी जोगाउ’ कार्यक्रम नाम दिइएको छ । यस योजना अन्तर्गत पुरै घर क्षति भई बास उठ्न लागेका सशस्त्र प्रहरी कर्मचारीलाई एक दरको रकम तथा कम क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई त्योभन्दा कम रकम नगदै दिइनेछ ।
यस कार्यक्रमको लागि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले दुई वर्षसम्म दैनिक १० रुपैयाँका दरले सहयोग पुर्याइनेछ । यो रकम वाहेक न्यूनतम ब्याजदरमा पाँच वर्षिय किस्तामा भुक्तान हुने गरी ऋण सहयोग समेत प्रदान गरिने सशस्त्रले जनाएको छ । ऋण सहयोग साढे दुई लाखदेखि ६ लाख रुपैयाँसम्म दामासाहीले प्रदान गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment