Sunday, May 17, 2015

मानसिक स्वास्थ्यमा भूकम्पले सिर्जना गरेको विपत्ति

जब विपतले तहस नहस भएका ठाउँहरु सञ्चार माध्यमहरुमा छाइरहन्छन्, तब के हुन्छ ? विपतको वास्तविक असर हेर्नै असजिलो लाग्नेखालको भयो भने के हुन्छ ? नेपालमा हालैको भूकम्पले विश्वभरका सञ्चारमाध्यमहरुको ध्यान आकृष्ट गर्‍यो । मिडियाले भूकम्पपछिको अवस्थाबारे गरेका लाइभ कभरेजहरुका कारण हामीले भत्किएका तथा क्षतिग्रस्त भएका हरेक भवनहरुलाई आफ्नै आँखा अगाडि देख्न पायौँ । भग्नावशेषबाट जिउँदै उद्धार गरिएका वा शव निकालिएका दृश्यहरु देखिए । प्रत्यक्षदर्शी तथा विज्ञहरुका अनेकथरि टिप्पणीहरु पनि प्रशस्तै देख्न र सुन्न पाइयो । अन्तरराष्टिय सहायताको पनि बढ्दो परिमाणमा प्रतिवद्धता प्राप्त भइरहेको छ, कुनै गेम शोको दुखलाग्दो प्यारोडी जस्तैगरी । मर्नेहरुको संख्या दिनहुँ उकालो लागिरहेको छ । निकै दुखदायी अवस्था छ । निकै भयानक अवस्था छ । सबैभन्दा अँध्यारो अवस्था छ भन्दा फरक पर्दैन । यद्यपि कुनै समाचार स्वभावैले लामो समयसम्म नयाँ समाचार बनिरहन सक्दैन । समय बित्दै जाँदा सुरुमा निकै प्रमुखताका साथ सञ्चार माध्यममा आएको उही विपतलाई रिपोर्टिङ गर्ने थोरै मात्र शैली हुन्छन् । पहिले सबै कुरा भनिसकिएको र देखिसकिएको हुनाले सोही कुरालाई बारम्बार प्रस्तुत गरिरहन अनावश्यक हुने हुँदा सीमित कोणमात्र बाँकी रहन्छन् । समयक्रमसँगै उक्त शोक जीवन जिउने संघर्षमा परिणत हुन्छ र त्यो जीवनको संघर्ष समाचार बन्दैन । आफ्नो दैनिक जीवन यापनका लागि कठिन परिश्रम गरिरहेका र चरम गरिबीमा बाँचिरहेका विश्वको जनसंख्याको ठूलो हिस्सा सचारमाध्यमको कभरेजभन्दा बाहिर छ । उनीहरु चुपचाप बाँच्छन् र चुपचाप मर्छन् । बेलायतमा अघिल्लो हप्ताको आमचुनावमा सञ्चारकर्मीहरु देशभित्रको राजनीतिक सरगर्मी मात्र होइन, नेपालमा के भैरहेको छ भन्नेमा पनि चासो दिइरहेका थिए । दुर्भाग्यवस मंगलबार अर्को भयानक भूकम्प गएपछि नेपाल फेरि अन्तरराष्टिय मिडियाहरुमा पुनः छायो । त्रसित प्रत्यक्षदर्शीका लामहरु, ध्वस्त भएका गाउँका कथाहरु तथा रगताम्मे दृश्य सहितका भिडियो फुटेजहरु पुनः सञ्चार माध्यममा आए । वास्तवमा बुझ्नुपर्ने कुरा के हो भने नेपालमा दुईवटा भूकम्प गएका होइनन् । मंगलबारको भूकम्प पनि अपि्रल २५ को भूकम्पको पराकम्पन हो । अप्रिल २५ को भूकम्पपछि नेपालमा ४ म्याग्नेच्युड भन्दा ठूला धेरै भूकम्प गइसकेका छन् । तर, सञ्चार माध्यममा खबर प्रशारण गर्नेहरुले एक अर्काको नक्कल गर्ने आफ्नै विधिको विकास गरे । शब्दहरुले नयाँ अर्थ तथा सन्दर्भ विकशित गरे । ‘आयो’ भन्ने शब्द पहिले लोडसेडिङपछि बिजुली आउँदा वल्लो घरको बच्चाले पल्लो घरको बच्चालाई सुनाउँदा भन्ने शब्द थियो । तर, अहिले भने यो पीडाको अभिव्यक्ति बनेको छ । भूकम्पका हरेक धक्कापछि मानिसहरुले ‘आयो’ भन्ने गरेका छन् । र, यो शब्दसँगै मानिसहरु घरबाट ह्वार्र बाहिर निस्किन्छन् । नेपालीहरु खुल्ला आकाशमुनि बस्न बाध्य हुनुका अतिरिक्त घर ढलेर त्यसमा पुरिने डरले कतिपयले घरको भुइँतलाको बाहिरपट्टि सुतेर रात गुजारिरहेका छन् । जनजीवनमा भइरहेको यो निरन्तरको गडवडीलाई अन्तराष्ट्रिय मिडियाहरुले ठाउँ दिइरहेका छैनन् । किनकि ७ रेक्टर स्केलभन्दा तलका भूइँचालोहरुले रिपोर्टिङका लागि मसला सिर्जना गर्दैनन् भन्ने सोचाइ छ सञ्चारकर्मीहरुमा । जब वास्तविक पीडा भोग्नेहरुसँग पीडाको अनुभूति गर्नेगरी आफू पनि त्यही ठाउँमा होइँदैन, तब रिपोर्टिङ गर्न अनावश्यक ठानिएका भूकम्पहरु अदृश्य बन्दछन् । नेपालको निरन्तरको अस्थिरताले सिर्जना गरेका असरहरु भौतिक क्षतिभन्दा बढी पीडादायी तथा गम्भीर त्रासदीपूर्ण छन् । काठमाण्डौस्थित सिवेक हस्पिटल एण्ड ट्राभल मेडिसिन सेन्टरकी मनोविज्ञ सोनिया मार्टिनका अनुसार भूकम्पले मानसिक स्वास्थ्यमा असर पुर्‍याइसकेको देखिएको छ । उनका अनुसार भूकम्पका कारण अब के हुने हो भन्ने विषयमा मानिसहरुमा डर तथा अनिश्चितता व्याप्त छ । अनुसन्धानले के देखाएको छ भने विपतले सिर्जना गर्ने दीर्घकालीन संवेगात्मक प्रभावले मानिसलाई शक्तिहीन बनाउने तथा आफूलाई कमजोर महसुस गर्दै आफुभन्दा शक्तिशाली अन्य बाह्यपक्षमाथिको नियन्त्रण गुमाउने हुन्छ । पहिलो भूकम्पपछि सामान्यीकरण बन्दै गएको नेपाली जनजीवन मंगलबारको भूकम्पपछि फेरि असामान्य बनेको छ र यत्रतत्र त्रिपालमय बनेको छ । निरन्तरको पराकम्पनको अर्थ, मानिसहरु आफ्नो अविवेकी आक्रमणकारीको फेरि पञ्जामा परिरहेका छन् । समयक्रमसँगै पीडा तथा त्रासदी कम हुँदै जानुको साटो दिन तथा हप्ता बित्दै जाँदा चरम तनाव झनै बढिरहेको छ । वातावरण सामान्य बन्ला तथा स्थिरता र निश्चितता प्राप्त होला भन्ने आशा गर्नेहरुका लागि भूकम्पीय विज्ञानले खासै सन्तोष प्रदान गर्दैन । भूकम्प विज्ञान अर्थात् सेस्मोलोजी सामान्य ढाँचाको विज्ञान हो, कुनै नियम होइन र यसले सुस्पष्ट उत्तर दिन सक्दैन । मंगलबारको ७.३ रेक्टर स्केलको भूकम्प आउनुअघि सोसल मिडियामा दुई विरोधाभासी कुराहरु आएका थिए । कतिपयले अब ६ रेक्टर माथिको भूकम्प आउने सम्भावना ९९ प्रतिशत नरहेको बताए भने कतिपयले मुख्य भूकम्पजत्तिकै शक्तिशाली जुम्ल्याहा आएरै छाड्दछ भन्ने दाबी गरे

No comments:

Post a Comment