Friday, May 22, 2015

छुटपछि त्रिपालमा ‘ओभर इन्भ्वाइसिङ’

वीरगन्ज-सरकारले भन्सार महसुल लगायत अन्य कर छुट दिएको मौका छोपेर व्यापारीले त्रिपाल आयातमा अधिक मूल्यांकन (ओभर इन्भ्वाइसिङ) गर्न थालेका छन् । सामान्य अवस्थामा भन्सार महसुल छल्न न्यून मूल्यांकन गर्ने व्यापारीले कालोबजारीको आरोपबाट बच्न र सरकारी निकायलाई बढी मूल्यमा त्रिपाल बेच्न ‘ओभर इन्भ्वाइसिङ’को सहारा लिएका हुन्। आयात गर्दा भन्सारमा अधिक मूल्य घोषणा गरेपछि सामानको लागत बढी परेको देखिन्छ । लागत बढेको बहानामा उनीहरुले बढी मूल्यमा बेचेर साबिकभन्दा धेरै कमाउन सक्छन् । लागत नै बढी देखिएपछि उच्च मूल्यमा बेच्दा पनि कालोबजारीको आरोप खेप्नु पर्दैन । सरकारी निकायलाई आपूर्ति गर्दा पनि भन्सार प्रज्ञापनपत्रमा घोषित मूल्यलाई आधार बनाएर बढी लिन पाइन्छ । भूकम्पबाट घरबारविहीन बनेका नागरिकलाई सहुलियत मूल्यमा त्रिपाल उपलब्ध गराउन सरकारले १९ वैशाखमा यसको आयातमा लाग्ने भन्सार महसुल र मूल्य अभिवृद्धिकर छुट दिने निर्णय गरेको थियो । सरकारले व्यापारिक प्रयोजनका लागि आयात हुने त्रिपालमा समेत कर र महसुल छुट दिएपछि अपत्यारिलो परिमाणमा त्रिपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । महसुल र कर छुट भएपछि नै आयातकर्ताले भन्सारमा घोषणा गर्ने मूल्य दोब्बर पारेका हुन् । प्रतिकिलो २ सय (भारु १२५) रुपैयाँ सन्दर्भ मूल्य तोकिएको त्रिपाल व्यापारीले १८ वैशाखसम्म त्योभन्दा बढी मूल्यमा आयात गरेका थिएनन् । ठूलो आकारको त्रिपालको तौल ५ किलो हुन्छ । राजस्व छुट घोषणा नहुँदासम्म १ हजारभन्दा बढी मूल्य प्रज्ञापनपत्रमा उल्लेख नहुने त्रिपाल अहिले धमाधम २ हजार (१,२०० भारुभन्दा बढी) रुपैयाँ मूल्य घोषणा गरेर आयात भइरहेको छ । छुट घोषणा भएयता वीरगन्ज भन्सार नाकाबाट मात्र ४ लाख थानभन्दा बढी त्रिपाल भित्रिएको छ । यहाँका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीका अनुसार जेठ ५ सम्मको १७ दिनमा ३ लाख ९९ हजार ५ सय ९९ त्रिपाल वीरगन्ज भन्सारबाट भित्रिएको छ । बुधबारको करिब ५ हजार थानको संख्या जोड्दा ४ लाखभन्दा बढी त्रिपाल विभिन्न व्यापारिक फर्मले आयाात गरेका छन् । प्रज्ञापनमा उल्लेखित मूल्यलाई आधार देखाउँदै बजारमा मनोमानी मूल्य राखेर बेच्ने उद्देश्यले आयातकर्ताले उच्च मूल्य घोषणा गर्न थालेको भन्सार अधिकृतहरुको बुझाइ छ । छुट घोषणासँगै त्रिपाल आयातको होड अपत्यारिलो किसिमले बढेको छ । साउन १ देखि वैशाख १८ सम्मको ९ महिना १८ दिनमा त्रिपालका १ सय ३ कन्साइन्मेन्ट वीरगन्ज भन्सार आएको थियो । वैशाख १९ पछिको १७ दिनमा १ सय ६८ कन्साइन्मेन्ट आएको छ । भूकम्पपछि त्रिपालको माग ह्वात्तै बढे पनि विभिन्न मुलुकबाट सहयोगस्वरुप लाखौंको संख्यामा आइरहेकोले त्यत्ति ठूलो परिमाणमा व्यापारिक प्रयोजनको त्रिपाल आयात हुन नपर्ने भन्सार अधिकारी बताउँछन् । कन्साइन्मेन्ट संख्यालाई आधार मान्दा त्रिपाल आयात १४ गुणा बढी छ । त्रिपालमा लाग्ने ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर जेठ २० सम्म छुट छ।

No comments:

Post a Comment